स्थानीय सरोकार/ काठमाडौं । वि.सं. २०१२ सालमा स्थापना भएदेखि नेपाल प्रहरीमा आजसम्म धेरै नै नेतृत्व फेरियो । नेतृत्वसँगै त्यसपछिका पदहरूमा पनि प्रशस्तै मुहार बदलिए । संगठन प्रमुख प्रहरी महानिरीक्षकको पदावधि सकिएसँगै प्रहरी अतिरिक्त महानिरीक्षक मध्येका अब्बल दर्जाका एक उक्त स्थानमा पुग्ने क्रम जारी नै छ ।
यो बीचमा आएका धेरैले आ–आफ्नो तवरबाट विभिन्न उल्लेखनीय कामहरू गरे । कतिपय चर्चाको शिखरमा पुगे त कतिपयले गुपचुपमै आफ्नो कार्यकाल पूरा गरे । यी सबै मध्ये अलि फरक धार र सोचाइका राष्ट्रसेवक हुन् प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की ।
२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरीको जागिर खान पुगेका उनले त्यसपछि देश र जनताका लागि निकै नै उल्लेखनीय काम गरेका छन् । २०६६ मंसिर २६ गते प्रहरी नायब उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायब महानिरीक्षक हुँदै २०८२ बैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षककको रुपमा पदोन्नती भएका उनी नेपाल प्रहरीका उदाहरणीय प्रदेश प्रमुख हुन् ।
उनले २०८१ मंसिर २९ गतेबाट २०८२ वैशाख १३ सम्म लुम्बिनी प्रदेश प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी निर्वाह गरे । लुम्बिनी प्रदेशमा काम गर्दा उनले यति छोटो अबधिमै व्यक्तिगत जीवनलाई भुलेर देश र जनताको शान्ति सुरक्षाको लागि आफ्नो जीवन समर्पण गर्नु नै नेपाल प्रहरीको कर्तव्य हो भन्ने कुरालाई पुष्टि गरेर देशका लागि अतुलनीय योगदान दिए भन्दा फरक नपर्ला ।
लुम्बिनी प्रदेशमा प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा उनले त्यहाँको शान्ति सुरक्षाको लागि उल्लेखनीय काम गरेका छन् । आत्महत्या न्यूनीकरण कार्ययोजना २०८१, विपद् पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०८१, लैंगिक हिंसा सम्बन्धी १६ दिने कार्ययोजना, अपराध न्यूनीकरण कार्ययोजना २०८१, कारागार सुरक्षा तथा हिरासत व्यवस्थापन कार्ययोजना २०८१, जघन्य, संगठित प्रकृतिका अपराध अनुसन्धान कार्ययोजना २०८१, सिमावर्ती अपराध, चोरी निकासी पैठारी नियन्त्रण सम्बन्धी कार्ययोजना २०८१ यी सबै उनकै पालाबाट सुरु भएको हो ।
यसका साथै उनकै पालामा प्रदेश प्रहरी कार्यालयको लागि जग्गा प्राप्तिको प्रकृया प्रदेश मन्त्रीपरिषद्बाट स्वीकृत गराइ तालुक मन्त्रालयमा पठाइएको थियो । ‘अन्तर जिल्ला मूल्यांकन मार्गनिर्देशन’ र ‘अन्तर–ईकाई कार्यसम्पादन प्रतियोगिता मार्गनिर्देशन’ तयार गरी कार्यान्वयनमा ल्याउनुका साथै सोको आधारमा मासिक रिपोर्ट कार्ड उपलब्ध गराउने व्यवस्था गर्नुका साथै हराएका मानिस, बेवारिसे लाश र सवारी साधनको विवरण एकीकृत गरी प्रदेशभरका सम्पूर्ण (कम्प्युटर भएका) युनिटसम्म वितरण गरी खोजी कार्यलाई एक विशेष अभियानको रुपमा संचालन गरिएको थियो ।
उनले आत्महत्या रोकथामको लागि मिडिया, रेडियो सामाजिक सञ्जालको प्रयोग गरी जनचेतना अभियान संचालन गरे । तस्करहरूको तारोमा पर्ने जोखिम मोल्दै आफूले सुशासनमा उल्लेख्य काम गर्ने भन्दै आफ्ना सिर्जनात्मक कामबाट अपराध नियन्त्रण र शान्ति सुरक्षामा फड्को मारेर जनताको मन जितेर प्रहरी प्रतिको जनधारणा मै सकारात्मक फड्को मार्ने प्रयत्नमा अहिले पनि हरदम तल्लिन छन् एआइजिपि कार्की ।
लुम्बिनी प्रदेशमा रहँदा उनका काम कारबाही बारे मातहतको कपिलवस्तु राजमार्गमा कार्यरत एक ट्राफिक प्रहरी हवलदारले नाम उल्लेख नगर्ने सर्तमा पहिलाको तुलनामा कार्की प्रमुख हुँदा छोटो समयमा नै प्रहरी कामकारबाहीमा भएको सुधार आफूले पहिलोपटक देखेको बताएको पूर्व डिएसपी हाल अधिबक्ता गोविन्द पन्थीले आफ्नो एक लेखमा उल्लेख गरेका छन् ।
‘हामीलाई कसैले खाजाखान जाउ भन्यो भने पनि कतै सरले पठाएका मान्छे त होइनन भनेर डर लाग्छ र हामी जान छाडेका छांै । एक सिनियर प्रहरी अधिकृतका अनुसार प्रदेशको नेतृत्वले बदल्न खोज्दा कति सम्भव छ भन्ने गतिलो उदाहरण दान सरको कामकारबाही ले छर्लङ्ग पार्छ,’ पन्थीले लेखेका छन् ।
कार्कीले लुम्बिनीमा रहँदा राजस्व छली नियन्त्रणमा पनि महत्त्वपूर्ण काम गरेका छन् । उनका भारत सरकारबाट वैधानिक रूपमा निर्यात गर्न नदिएका सामाग्री पैठारीमा नियन्त्रण, भन्सार छली नियन्त्रणमा नाकामै कडाइ गर्ने र एकपटक चेक जाँच गरेका गाडीलाई ठाउँ ठाउँमा जाँच गरी हैरानी नदिने, भारत प्रवेश गर्दा नेपाली गाडीलाई जे जस्तो शुल्क लाग्छ भारतीय गाडी नेपाल प्रवेश गर्दा पनि सोही मुताबिक गर्ने लगायतका कामले राजस्व छलीलाई बन्द गराउन निकै नै मद्दत ग¥यो ।
आर्थिक वर्ष ०८०-८१ को माघ महिनामा लुम्बिनी प्रदेशमा ४,८९,५५,४५० राजस्व छली पक्राउ गरिएकोमा कार्कीकै नेतृत्वमा ०८१-८२ को माघ महिनामा सतप्रतिशत वृद्धि भै ९,०४,६५,३५० अबैध राजस्व छली पक्राउ गरिएको देखिन्छ । यसका साथै कार्कीले आफ्नो कार्यकालमा अरु पनि उल्लेख्य कामहरू गरेका छन् जुन देश र जनताको हकहितमा छन् । उनले “लागूऔषध सेवनले ज्यान लिन्छ, जेल पु¥याउँछ, बिदेश जानबाट रोकिन्छ” भन्ने नाराका साथ लागूऔषध विरुद्ध सर्च एण्ड स्वीप तथा रिले सचेतनात्मक ¥याली अभियान संचालन गरे । प्रहरी कर्मचारीलाई सुसूचित गर्ने उद्देश्यले सम्पूर्ण प्रहरी कार्यालयहरूमा ‘प्रहरी प्रतिज्ञा’ र ‘सुरक्षाका ७ सुत्र’ टाँसिनुमा उनको नै भूमिका छ ।
यसअघि कार्कीले २०८१ जेठ २१ देखि २०८१ मंसिर २८ गतेसम्म नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको रुपमा काम गरेका थिए । प्रवक्ताको रुपमा उनले नेपाल प्रहरीका वेवसाइट, रेडियो–टिभी कार्यक्रम, सामाजिक सञ्जाल मनिटरिङ युनिट, केन्द्रीय प्रहरी समाचार कक्ष जस्ता सांगठानिक सूचना संप्रेषणका माध्यमले सार्वजनिक सरोकार र महत्वका विषयमा नेपाल प्रहरीको आधिकारिक धारणा प्रकाशन एवं प्रसारण गर्नुका साथै नियमित सञ्चारकर्मी भेटघाट, आवश्यकता अनुसार प्रेस विज्ञप्ती एवं आम सञ्चार माध्यमसँग समन्वय गर्दै जनमानसमा नेपाल प्रहरीको छवी उँचो गराउने, प्रदेश प्रहरी कार्यालयहरूदेखि जिल्ला तहसम्मका सूचना अधिकारीहरूलाई सूचना संप्रेषणका सम्बन्धमा निर्देशन दिने, सम्पादित कार्यको अनुगमन गर्ने तथा सेवा प्रदायक कार्यालयहरूमा नागरिक बडापत्र, नागरिक सहायता कक्ष, उजुरी छानबिन शाखामार्फत प्रभावकारी सेवा प्रवाह एवं सूचना वर्गीकरण र अध्यावधिक गरी प्रहरी सूचना प्रसारण र प्रकाशन सफल रूपमा सम्पन्न गरे ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत आम–नागरिकलाई सु–सूचित गर्ने उद्देश्यले सार्वजनिक, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरण, लागूऔषध दुव्र्यसन, बैङ्किङ कसुर लगायतका विभिन्न आर्थिक अपराधहरू, ठगी, साईवर अपराधको जोखिम जस्ता विषयसँग सम्बन्धित सन्देशमूलक भिडियोहरू निर्माण गरी प्रचार प्रसार, नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाबाट अपराध नियन्त्रण, विपद व्यवस्थापन सम्बन्धी वृत्तचित्र र डकुड्रामा तयार गरी विभिन्न सञ्चार माध्यमबाट प्रशारण गर्ने लगायतका काम कार्कीको नेतृत्वमा सम्पन्न भए ।
नेपाल प्रहरी ऐन, नियमावली, नीति, निर्देशन विपरित गैरव्यवसायिक आचरण, व्यवहार गर्ने एवं प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, हेलो सरकार, राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न सरकारी, गैरसरकारी कार्यालय, सञ्चारगृह र सञ्चारकर्मी, संघ–संस्था वा व्यक्तिबाट सिधै वा सामाजिक सञ्जालबाट प्राप्त उजुरीहरूका सम्बन्धमा छानबिन र अनुसन्धान पश्चात प्रहरी महानिरीक्षकज्यूसँग समन्वय गरी अनुशासनात्मक एवं फौजदारी कसुरमा कारवाही गरी गराई प्रहरीमा सांगठानिक एवं व्यवसायिक मापदण्ड स्थापित गर्नुका साथै प्राप्त उजुरीको फर्छाैट प्रतिशतलाई शतप्रतिशतमा पु¥याउनमा उनको ठूलो भूमिका रह्यो ।
हाल कार्की नेपाल प्रहरी प्रशासन कार्यालय मानवश्रोत विकास विभाग प्रमुखको भूमिकामा कार्यरत छन् । विभाग प्रमुखका रुपमा कार्कीले कर्मचारी प्रशासन शाखाबाट हुने प्रहरी कर्मचारीको सरुवा, बढुवा, काज, पदस्थापन लगायतको कार्यहरूमा निष्पक्षता र पारदर्शिता कायम गर्दै मानवश्रोत विकास विभाग मातहतका सम्पूर्ण शाखाहरूबाट हुने हरेक काम कारवाहीलाई उच्च प्राथमिकता र महत्वका साथ नियमित अनुगमन, सुपरिवेक्षण र निर्देशन दिएका छन् । उनले कार्य सम्पादन मूल्याङ्कन भर्ने भराउने सम्बन्धमा सम्पूर्ण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायतका प्रमूखहरूलाई आवश्यक निर्देशन दिएका छन् । यसका साथै मानव श्रोत विकास विभाग अन्तर्गतका सम्पूर्ण शाखाहरूको निरीक्षण गरी अभिलेख व्यवस्थापनमा देखिएका कमीकमजोरी औल्याई सुधारका लागि आवश्यक निर्देशन गर्नुका साथै पूराना कागज पत्र धुल्याई प्रतिवेदन पेश गर्नका लागि समिति गठन गराएका छन् ।
- अहिलेका प्रधानमन्त्रीको ज्यान जोगाउन उबेला देखाए साहस
वि.सं २०७३ फागुन २३ मा नेकपा (एमाले) ले मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, बासबिट्टीमा एक सभा आयोजना गरेको थियो । सोही कार्यक्रममा तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका थिए ।
उक्त कार्यक्रममा मधेसी मोर्चाले एमालेलाई मधेशमा प्रवेश गर्न रोक गरेको घोषणा गरेका थिए । कार्यक्रमको समाप्ततिर लगभग अपराह्न ४ः४५ बजे प्रहरी र सशस्त्र प्रहरी (एपीएफ) को सुरक्षा व्यवस्थाबीच मलेठ–चोक नजिकै मधेसी मोर्चाका प्रदर्शनकारीहरूले हमला गरे । रणनीतिक रूपमा अगाडि बढेको आन्दोलनकारीहरू र सुरक्षा दलबीच झडप भयो । उक्त झडप यो स्थितिमा पुग्यो कि प्रहरीले गोली नचलाई सुखै पाएन । गोली चलाउनै पर्ने कारण भने हालका प्रधानमन्त्री तथा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण थियो ।
आन्दोलनकारीहरू यतिसम्म उग्र भइसकेका थिए कि आयोजक पार्टीका अध्यक्षको ज्यान नै लिने सोच बनाइसकेका थिए । सोही अनुरुप उनीहरू अगाडि बढेका थिए । तर, त्यतिबेला उक्त कार्यक्रमको सुरक्षाको जिम्मा लिएर प्रमुख भएर त्यहाँ पुगेका तत्कालीन डिएसपी कार्कीको अदम्य साहसका अगाडि आन्दोलनकारीको केही पनि लागेन । उनी आफ्नो ज्यान भन्दा नि केपी ओलीको ज्यान ठूलो ठान्दै उनको सुरक्षाका लागि दत्तचित्त भएर लागे । ‘त्यतिबेला उनलाई आफ्नो ज्यान भन्दा पनि निवर्तमान प्रधानमन्त्रीको चिन्ता भएका कारण, अगाडि ढुंगामुढासहित अवस्था उग्र बन्दै आफ्नो ज्यान समेत जोखिममा पारेर केपी ओलीको सुरक्षामा ढाल बनेर बसेका कारण उक्त स्थानमा ठुलो क्षेति हुनबाट जोगिएको उक्त स्थानमा सुरक्षामा खटिएका एक अधिकृतले बताए ।
- भाडा माझ्ने र परिवारलाई सघाउने बाल्यकालका कार्की
गुल्मीको मालिका गाँउपालिका वडा नम्बर ७ मा जन्मिएका कार्कीको बाल्यकाल परिवारको अत्यन्तै माया र स्नेहमा बित्यो । आमा घर परिवारको काममा सघाउने, भाडा माझ्ने, कुचो लगाउने लगायतका सबै काममा कार्कीले हात बढाउँथे । वक्तृत्वकला, हाजिरी जवाफ, फुटबल, सांस्कृतिक कार्यक्रमहरू लगायतमा भाग लिन कहिले पनि नछुटाउने उनी स्कुले जीवनमा जेहनदार छात्रको सूचीमा अग्रस्थानमै पर्थे । पढाई राम्रो भएको विद्यार्थीले कक्षा ‘टप’ गर्ने परिपाटी पछ्याउँदै उनी ३ कक्षाबाट सिधै ५ कक्षामा पुगेका थिए । निकै नै मिलनसार उनी अरुको दुःखलाई आफ्नै मान्दै सहयोग गर्न पछि नहट्ने स्वभावका थिए उनी । गल्मीको खन्जडमा प्राथमिक तहको अध्ययन गरेपछि परिवारले काठमाडौं नपठाउँदा बिद्रोह गरेर आफ्नै गाउँको भोटेदमाइसँग घरमा भएको फाटेको छाताको झोला सिलाउन लगाएर उपत्यका छिरेका उनले होस्टेल बसेर निजी विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन गरे । परिवारले मायाको कारण सानो उमेरमा आफूहरूबाट टाढा पठाउन नखोज्दा उनले सान्केतिक बिद्रोह गरेर काठमाडौं लागे । त्यसपछि उनले ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक उत्तीर्ण गरेका थिए ।
सरकारी जागिरको मोह
देश र जनताको सेवाका लागि र वास्तविक पीडितलाई न्याय दिन सरकारी जागिर जतिको उपयुक्त माध्यम नहुने सोचका उनले नेपाल प्रहरीमा जागिर खाएर सरकारी कामको थालनी गरे । उनी सानैदेखि अग्रजहरूको घरमा गएर पढ्ने र कसरी लोकसेवा तयारी गर्ने विषयमा निकै नै चासो राख्थे । त्यस बेलामा उनका शिक्षकहरूले पनि सरकारी तहमा नै काम गर्नुपर्छ भनेर मार्गनिर्देश गर्ने गर्थे ।
सुरुमा सरकारी जागिरे बनेर कूटनीतिक सेवातर्फ सेवा गर्ने योजना बनाएका उनी कूटनीतिक सेवाभन्दा अघि प्रहरीको परीक्षा खुलेकाले त्यसै तर्फ मोडिएका थिए । कुटनीतिक सेवाको तयारी गरेपनि उनले प्रहरीमा नाम निकाल्न सफल भए । प्रहरीले खोलेको दरबन्दीमा पास भएपछि नेपाल प्रहरीमै काम गर्ने योजना बनाउँदै विगत २७ वर्ष देखि उनी देशको सेवामा तल्लीन छन् । २०५४ चैत १८ गते प्रहरी निरीक्षकका रुपमा नेपाल प्रहरी सङ्गठनमा भर्ना भएका कार्कीको सुरुवाती तलब मासिक चार हजार रुपैयाँ थियो । द्वन्द्वको समयमा प्रहरीमा नियुक्ति पाएका उनी लोकसेवाको परीक्षा दिएर प्रहरी बन्ने पहिलो ब्याजी हुन् ।
- साङ्गीतिक क्षेत्रमा छ विशेष रुचि
सरकारी जागिरसँगै उनमा सांगीतिक क्षेत्रमा पनि विशेष रुचि छ । बाल्यकालमा गायन र नृत्य दुवै गर्ने गरेका उनका तीन चार वटा गीतहरू बजारमा आइसकेका छन् । प्रहरीको दायित्व बोधका साथै प्रहरीको गाथा, वीरता, लोक पीडा, सौन्दर्यता र प्रहरीको भावना उनका गीतहरूमा समेटिएका हुन्छन् । उनको १ वटा प्रहरी गीत, ३ दसैँ तिहारको गीत सार्वजनिक भइसकेको छ । पछिल्लो समय उनको गीत चलचित्र हरिबहादुरको जुत्तामा पनि समावेश भएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित
देश र जनताका अहोरात्र खटिएका कार्कीले पटक पटक विभिन्न पुरस्कार तथा विभूषणहरू प्राप्त गरेका छन् । २०६० साल बैशाख १ गते पूर्वी टिमोरमा संयुक्त राष्ट्रसंघ मिशनले उनलाई संयुक्त राष्ट्र संघ पदकबाट विभूषित गरेको थियो । त्यसैगरी प्रहरी प्रधान कार्यालय नक्सालले सोही दिन प्रदेश सेवा पदक प्रदान ग¥यो । २०६० कात्तिक १४, मंसिर २३ र २०६१ वैशाख १८ गते संयुक्त राष्ट्रसंघबाट प्रशंसा पत्र प्राप्त गरेका उनलाई २०७५ अशोज ३ गते नेपाल सरकारले प्रवल जनसेवा श्री पदक सम्माननीय रास्ट्रपतिबाट प्रदान गरिएको थियो । त्यस्तै जनस्तरबाट पुरस्कार प्राप्त गर्ने सायद नेपाल प्रहरीका पहिलो व्यक्ति कार्की हुन । उनलाई गण्डकी प्रदेश सरकारले २०७६ फागुन ४ गते पचास हजार रुपैयाँ नगद सहित प्रशंसा पत्र प्रदान गरेको थियो । उनले १४ वटा संगठनबाट पुरस्कार प्राप्त गरेका छन भने हालसम्म कुनै विभागिय कारबाहीमा परेका छैनन् ।
देशका महत्त्वपूर्ण जिल्लाहरू कास्की, कपिलवस्तु, सप्तरी, झापा, काठमाडांै र लुम्बिनी प्रदेश समेतको कमाण्ड गरिसकेका कार्की जेष्ठता र कार्य सम्पादनमा एक नम्वरमा रहेकोले भावी प्रहरी प्रमुखका निर्बिकल्प दावेदारको रुपमा हेरिएको छ । उनले प्रहरी संगठनमा रहेर देशका विभिन्न आपराधिक क्रियाकलाप रोक्न धेरै नै ठूलो भूमिका निर्वाह गरेका छन् । एक अवकाश प्राप्त सिनियर प्रहरी अधिकारीका अनुसार सरकारले साँच्चिकै सुशाशन दिन चाहन्छ भने प्रहरी सुध्रदा ७० प्रतिशत सुशासन ल्याउन सकिन्छ । त्यसको लागि प्रहरीको नेतृत्व सिर्जनशील र सुधारोन्मुख भावनाको हुँदा त्यो सम्भव हुने र देशले शुशासनमा फड्को मार्न सक्ने हुनसक्छ । त्यस्को लागि अब आउने प्रहरीको नेतृत्व वरियता र कार्यसम्पादनमै उत्कृष्ट छानिनु पर्दछ ।
यो पटक सरकारले राजनीतिक सौदाबाजी प्रहरी नेतृत्व छनौटमा गरेन भने नेपालमा प्रहरी कार्य शैली परिवर्तनमा उल््लेख्य फड्को मार्ने र त्यसको जस सिधै सरकारले प्राप्त गर्ने अवस्था हुने उनले बताए । तसर्थ यस्ता सिर्जनशील र कार्य सम्पादनमा उत्कृष्ट जनप्रेमी प्रहरी नेतृत्व अबको आवश्यकता पनि हो र जन अपेक्षा पनि दल, र सरकारले सुरक्षा निकायमा अस्वभाविक हस्तक्षेप नगरोस ताको प्रहरी सेवा सरल र सहज तरिकाले समान तबरले उपलब्ध होस भन्ने नै हो । यी याबत कुराले यो पुष्टि गर्छ कि जनता र कामलाई नै सर्वोपरी ठान्ने एआइजिपि कार्की एक अनुकरणीय तथा अदाहरणीय प्रहरी अधिकारी हुन् ।
यो खबर स्थानीय सरोकार पत्रिकाको असोज अंकमा प्रकाशन भएको छ ।
✍ लेखक: शालिक भट्ट स्थानीय सरोकार पत्रिकाको सह-सह-सम्पादक हन् ।