स्थानीय सरोकार/उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले सम्पत्ति कर तथा
व्यवसाय करसम्बन्धी प्रणाली अद्यावधिक (System Update) गर्ने कार्यका कारण सात दिन सेवा प्रवाह बन्द रहने जनाएको
छ।
नगरपालिकाले शुक्रबार जारी गरेको
सूचनाअनुसार साउन २५ गतेदेखि साउन ३१ गतेसम्म नगर कार्यपालिकाको कार्यालय तथा
मातहतका सबै वडा कार्यालयबाट प्रदान गरिने सम्पत्ति कर र व्यवसाय करसम्बन्धी
सम्पूर्ण अनलाइन तथा कार्यालयमार्फत हुने सेवाहरू अस्थायी रूपमा बन्द रहनेछन्।
नगरपालिकाले कर प्रणालीलाई थप
व्यवस्थित र प्रभावकारी बनाउन प्रणाली अद्यावधिक गर्न लागिएको जनाएको छ। यस अवधिमा
सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रणाली अद्यावधिक सम्पन्न
भएपछि सेवा नियमित रूपमा सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ।
नगरपालिकाले सम्पूर्ण सेवाग्राही तथा
सरोकारवालालाई सहयोग र समझदारीका लागि अनुरोध गरेको छ।
सूचना सूचना प्रविधि शाखाका इन्जिनियर
दीपक तिम्सिनाले जारी गरेका हुन्।