पुस्कर बस्नेत -
पछिल्ला दिनहरुमा स्थानीय, प्रदेश र
केन्द्रीय सरकारको समेत राम्रो ध्यान दिन सकेको खण्डमा यस जिल्ला त्यसमा पनि
शैलुङलाई पर्यटकीय आकर्षक केन्द्रको गन्तव्यको रुपमा विकास गर्न यहाँको पर्यटन
प्रवद्र्धन यसबाट समग्र जिल्लामा आइपर्ने समृद्धि र त्यसको प्रभावले ‘समृद्ध दोलखा, र सुखी
दोलखाबासी’ भन्ने भनाईलाई राम्रोसँगले शैलुङलाई आज सबैका बीचमा प्रमाणित गरिदिएको
छ । पर्यटन क्षेत्र नेपालको आर्थिक विकासका एक अति मेरुदण्ड बन्न सक्ने क्षेत्र हो
भने बागमती प्रदेश र यसअन्तर्गत पर्ने दोलखाको शैलुङ देशकै समृद्धि र पर्यटन
क्षेत्रको एक अभिन्न विकास र पर्य–पर्यटनको हिसाबले एक दरिलो स्रोत बन्न सक्ने
निश्चित जस्तै भएको छ । शैलुङ क्षेत्र दोलखाको पर्यटनको साथै कृषि, जडिबुटी, वन र
भौगर्भिक आदी अनेक खोज अनुसन्धानका दृष्टिकोणले समेत त्यत्तिकै महत्वपूर्ण रहँदै
आएको छ ।
शैलुङको भौगोलिक अवस्था
दोलखा जिल्ला बागमती प्रदेश अन्तर्गत रहेको मध्य पहाडी
जिल्लाको रुपमा यस जिल्लालाई हेरिन्छ ।
शैलुङको सिमानाहरु पूर्वमा भीमेश्वर नगरपालिका, पश्चिममा
रामेछाप जिल्ला, उत्तरमा बैतेश्वर गाउँपालिका र दक्षिणमा रामेछाप जिल्ला
रहेका छन् । शैलुङ गाउँपालिका दोलखा जिल्लाको एक ऐतिहासिक, धार्मिक, साँस्कृतिक
र पर्यटकीय गन्तव्य बोकेको गाउँपालिका हो । यस गाउँपालिका १२८.६७ वर्ग किलोमिटर
क्षेत्रफलमा फैलिएको एक सुन्दर पर्यटकीय र उर्वरा कृषि भूमिले समेत यस
गाउँपालिकालाई चिनिएको छ । बौद्ध, हिन्दु, क्रिश्चियन
र बोन धर्मवलम्बीहरुको आस्था र विश्वासका रुपमा परिचित शैलुङ हरेक हिसाबले आज
विश्वको कुना कन्दरामा गुन्जयमान हुँदै आएको छ । आज शैलुङले दोलखाबासी नेपाली
दाजुभाई तथा दिदीबहिनीहरुको ध्यान तान्न सफल भएको छ, यो नै आज दोलखा
जिल्लाको एक ऐतिहासिक र अति महत्वपूर्ण सम्पत्तिका रुपमा विकास हुँदै आएको छ ।
विभिन्न किवदन्तीअनुसार यो क्षेत्र शैलुङ पर्वतको नामबाट गाउँपालिकाको नामाकरण
भएको हो । शैलुङ सम्बन्धि स्थानीयहरुका माझ विभिन्न किंवदन्तीहरु प्रचलनमा रहेका
छन् । प्रथम बुद्ध साङ्गे माह्मोर्चेले ज्ञान दिएको हुनाले पहिले यस पर्वतलाई
साङ्गेलुङ भनिन्थ्यो । पछि अपभं्रश हुँदै
शैलुङ रहन गएको कुरा यहाँ लामो समयदेखि विभिन्न तहबाट अध्ययन गर्ने गुरुहरु
बताउँछन ।
शैलुङ गाउँपालिका साविकको ताम्चेत दुधपोखरी, भुषाफेदा, काटाकुटी, शैलुङगेश्वरी, मागापौवा
र फस्कु गाविसहरु मिलाएर बनाएको हो । शैलुङ गाउँपालिकाको पूर्वमा भीमेश्वर
नगरपालिका, उत्तरमा बैतेश्वर र तामाकोशी गाउँपालिका पर्दछ भने पश्चिममा
सिन्धुपाल्चोक र रामेछाप जिल्ला पर्दछ । उत्तरमा भीमेश्वर नगरपालिका र
सिन्धुपाल्चोक जिल्ला छन भने दक्षिणमा मेलुङ गाउँपालिका र रामेछाप जिल्ला पर्दछ ।
शैलुङ गाउँपालिका आठ वटा वडामा विभाजन गरिएको छ । साविकको ताम्चेत दुधपोखरी (१–९)
लाई वडा नं. १, साविकको भुषाफेदा गा.वि.स. (१–९) लाई वडा नं. २ , साविकको
काटाकुटी गा.वि.स. (१,२,८ , ९ र
मागापौवा १) लाई वडा नं. ३, साविकको मागापौवा गा.वि.स. (२–९) लाई वडा
नं. ४, साविकको काटाकुटी गा.वि.स. (३–७) लाई वडा नं. ५ , साविकको
फस्कु गा.वि.स.(६–९) लाई वडा नं. ६, साविकको फस्कु (१, २, ३, ४, ५) लाई
वडा नं. ७, र साविकको शैलुङ्गेश्वरी गा.वि.स (१–९) लाई वडा नं. ८ मा
विभाजन गरिएको छ ।
अब हामी शैलुङ कहिले घुम्ने ?
दोलखाको शैलुङ साँच्चिकै एक पवित्र र सुन्दर शान्त विशाल
शैलुङमा विकास भएको देखिन्छ । उपत्यकाबाट केही टाढा रहेपनि आज त्यस सुन्दर
क्षेत्रमा काठमाडौंबाट यात्रा गर्नेहरुको संख्यामा विगतको वर्षहरुभन्दा यस वर्षमा
निकै बाक्लोपन भएको स्थानीयबासी भैरव श्रेष्ठ बताउँछन् । काठमाडौंबाट यात्रा
गर्नेहरुले जाने अघिल्लै दिन होटलको र आवासको राम्रो बन्दोबस्त गरि जानुपर्नेछ
किनकी त्यहाँ होटल र लजहरुको संख्यामा केही कमी भएकै कारण जाने गेष्टहरुका निम्ति
अघिल्लो दिन नै काठमाडौंबाट बुकिङ गरेर जाँदा सबै हिसाबले राम्रो हुने कुरा
स्थानीय बासी श्रेष्ठ बताउँछन् । दिनप्रतिदिन हाम्रो शैलुङको माग बढ्ने क्रममा
भएको हँुदा आफू धेरै हर्षित भएको कुरा उनी बताउँछन् । मुडे र खरिढुंगाबाट विकास र
सडक सञ्जालले केही असहजता भएपनि त्यो ठाउँ जाने घुम्नेहरुका निम्ति असाध्यै नै
राम्रो र सुगम रहेको समेत उनी बताउँछन् । हरेक खालका प्रकृतिका मनोरञ्जन लिनुका
साथै त्यहाँ धेरै किसिमका प्रकृतिका सुन्दर छटाहरुले शैलुङ सजिएर रहेको पाइन्छ ।
सबै दोलखालीहरुका निम्ति अध्यात्मको दोभान हो–शैलुङ । धर्तिकै स्वर्ग शैलुङमा
पुग्दा तन र मनमा ऊर्जा भरिन्छ । ३१५० मिटर उचाईको डाँडामा सूर्योदय, सूर्यास्त
र हिमाली सौन्दर्यको मिठास पाइन्छ । दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा
गाउँपालिकामा पर्छ शैलुङ । यहाँबाट २२० डिग्रीमा हिमाली शृंखला देखिन्छ । हिमाल
पनि कति हुन् कति ! पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि
गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र
नुम्बुरसम्म दर्जनौं हिमालहरू यस ठाउँबाट देख्न सकिन्छ । पर्यटकीय गन्तव्य ः सय
थुम्का शैलुङ
तामाङ भाषाको शब्द ‘शैलुङ’को नेपाली अर्थ हुन्छ, सय
थुम्का । धानको थुप्रो जस्ता दर्जनौं थुम्का । कुनै अग्ला त कुनै होचा । जुन
थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन् । हिमाल पनि कति हुन् कति १
पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश
हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा
र नुम्बुरसम्म दर्जनौं हिमालहरू । दोलखा र रामेछापको सिमानामा पर्ने
महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडा आज पर्यटकहरुको निम्ति अत्यन्तै राम्रो
रोजाइ बन्दै गएको छ । पर्यटन वर्षको शुरुआत भएसँगै दोलखाको शैलुङ गाउँपालिका र
रामेछापको दोरम्बा गाउँपालिकाको सिमानामा पर्ने शैलुङ डाँडामा आन्तरिक तथा बाह्य
पर्यटकको भीड लाग्ने गरेको छ । पर्यटकीय हिसाबले शैलुङडाँडा ३६५ डाँडा भनेर
चिनिनको लागि धेरै लोकप्रिय रहेको छ भने जहाँबाट ३६५ वटा डाँडाहरु देखिन्छन् भन्ने
जनविश्वास रहेको छ ।
केही समयअघिसम्म ओझेलमा परेको शैलुङ पछिल्लो समय आन्तरिक
तथा बाह्य पर्यटकको नयाँ आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको कुरा
शैलुङ गाउँपालिकाको अध्यक्ष रिमालबाबु श्रेष्ठ बताउँछन् । समुन्द्री सतहदेखि ३३ सय
मिटर उचाइमा रहेको शैलुङ डाँडा हिउँले सेताम्य बनेपछि पर्यटकको चहलपहल बढ्ने गरेको
कुरा अध्यक्ष श्रेष्ठले आर्थिकसँगको भेटमा बताउँछन् । तीन हजार ३०० मिटरको उचाइमा
एउटा ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जो कोही
पर्यटकलाई लोभ्याउने गरेको छ । हिउँले सेताम्य बन्ने गरेको शैलुङ डाँडामा
प्राकृतिक सौन्दर्यको अवलोकन गरी मनोरञ्जन लिनुका साथै हिउँमा रमाउने पर्यटकको
समेत उत्तिकै चहलपहल बढ्दै गएको छ । सय टाकुरा रहेको शैलुङमा हिउँ पर्नासाथ साहसिक
खेल स्केटिङ खेल्नका लागि पर्यटकहरु आउने गरेको छ । जिल्लालगाएत धेरै ठाउँहरुबाट
पर्यटकहरुलाई लक्षित गर्दै विगतमा आफू गाउँपालिका अध्यक्ष हुँदै देखि यस क्षेत्रको
पर्यटन विकासका निम्ति धेरै कामहरु गर्दै आइरहेको कुरा शैलुङ गाउँपालिकाको पूर्व
अध्यक्ष भरतप्रसाद दुलाल बताउँछन् । त्यसबेला मेरै नेतृत्वमा त्यसबेलाको
प्रधानमन्त्री केपीशर्मा ओलीलाई समेत शैलुङको विकास र यस क्षेत्रको पर्यटनको
सम्भावनालाई ध्यानमा राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको समेत ध्यान
केन्द्रीत गरेर आफ्नो कार्यकालमा नै साँच्चिनै शैलुङ गाउँपालिका र शैलुङले राम्रै
सफलताको बीऊ रोपेको कुरा शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष दुलाल दर्शाउँछन । यस
क्षेत्रको विकास र समृद्धिका निम्ति हामी सबै एकजुट भएर अघि बढ्नुको कुनै पनि
विकल्प नभएको कुरा दुलाल बताउँछन् ।
शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर, सगरमाथा, माछापुच्छ्र्रे, गणेश
हिमाललगायतका हिमाल र काठमाडौँ उपत्यकासँगै तराईका केही भाग राम्रोसँगले देख्न
सकिन्छ । यिनै सुन्दर दृश्यावलोकन गर्ने ठाउँका रुपमा आज सबैका निम्ति सय थुम्का
पर्यटकीय राम्रो खालको गन्तव्य बनेको स्थानीय तथा समाजसेवी सोभित उप्रेती बताउँछन । धेरै आन्तरिक तथा
बाह्य पर्यटकको पहिलो रोजाइमा हिजोआज सय थुम्का पर्न थालेको उनको भनाइ छ । यहाँ १२
वर्षमा एकपटक खुल्ने शैलुङ्गेश्वर महादेवको मन्दिर, गोदावरीजस्ता
धार्मिकरूपले चर्चित गुफा रहेका छन् । चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि
नाच्ने डाँफेमुनाल, चौँरी र विभिन्न जातजातिका चराचुरुङ्गी
एवं जङ्गली जनावरले शैलुङका डाँडाकाँडामा बसेर खुशीयाली व्यक्त गर्न सक्ने कुरा
उप्रेती बताउँछन् । सय थुम्काको आफ्नै किंवदन्ती रहेको छ, सय
थुम्कामा हिउँदका बेला सेताम्मे हिउँ पर्ने भएकाले हिउँ खेल्नेको भीड लाग्ने गर्दछ
। हिउँ खेल्नकै लागि टाढाटाढाका पर्यटकसमेत आउँछन् । उनीहरु हिउँमा खेल्ने र
सेताम्मे शैलुङको दृश्यसँगै प्राकृतिक र मनोरञ्जनका विभिन्न खालको स्वाद लिँदै
विभिन्न खालको मनोरञ्जन गर्न सकिने कुरा उप्रेती बताउँछन ।
आर्थिक समृद्धिमा
टेवा पु¥याउँदै शैलुङ
ढुंगाको थुम्कैथुम्का मिलेर बनेको सय थुम्का नै सैलुङ हो ।
शैलुङमा शैलुङेश्वर महादेवले वासस्थान गर्नुभएको बुझिन्छ । त्यस्तै भगवान बुद्धले
पनि पाइला टेकेको भूमि भनेर चिनिन्छ । दोलखा जिल्ला र रामेछाप जिल्लाको सिमामा
रहेको शैलुङ पर्वत महाभारत श्रृंखलाको अग्लो पर्वत सैलुङ समुद्री सतहदेखि ३१४६
उचाईमा पर्दछन् । दोलखाको शैलुङ गाउँपालिका–मेलुङ गाउँपालिका र रामेछापको दोरम्बा
गाउँपालिकाको बीचमा अवस्थित रहेको छ । यो क्षेत्रलाई पर्यटन विकास गर्नसके देशको
आर्थिक समृद्धिमा टेवा पु¥याउने देखिन्छ । किंवदन्तीअनुसार यस
क्षेत्रमा १०८ ओटा थुम्का रहेको छ । प्रत्येक थुम्काको आफ्नै पहिचान रहेको छ ।
त्रिशुल गाडिएको थुम्कामा सास नफेरी चढ्न सकेमा आफुले चाहेको पुरा हुने जनविश्वास
रहेको छ ।
अर्को ढाड मालिस गर्ने थुम्का रहेको छ । त्यसमा तीनपटक
घुमेर ढाड माडेमा निको हुने जनविश्वास रहेको छ । त्यस्तै शैलुङको नजिकै धर्मद्धार
रहेको छ । त्यस गुफामा ओहोर–दोहोर गर्न सक्ने धर्मात्मी र बीचमै अड्कीएमा पापी
हुने जनविश्वास रहेको छ । त्यस्तै नजिकै अर्को जुरेढुंगा महादेव रहेको छ । त्यस
स्थानमा एउटा ढोका रहेको र परापूर्वकालमा भोजभतेरका लागि भाँडाकुँडा माग्ने
वित्तिकै प्राप्त हुने जनविश्वास रहेको छ । पछि भाँडा जुठोले पोतीएका कारण ढोका
बन्द हुने किवदन्ती समेत रहेको छ ।
स्वच्छ हावा पाउने यस क्षेत्रमा भगवान शिव शैलुङगेश्वरले
वासस्थान गरेको बुझिन्छ । त्यस्तै भगवान बुद्धले पनि पाइला टेकेको भूमी शैलुङ हो ।
शैलुङबाट नेपालका करिव १० भन्दा बढि जिल्लाहरुलाई नियाल्न सकिन्छ । पूर्वतिरका
धेरै हिमश्रृङ्खलाहरुलाई राम्रोसँग देख्न सकिन्छ । कालिञ्चोक पर्वत, चरिकोट
बजार, भिमेश्वर, रामेछापको खाँडादेवि मन्दिर र
दोरम्बा बजारलाई नजिकैबाट देख्न सकिन्छ । जोसुकै पनि एकपटक शैलुङ जाने हो भने
स्वर्गिय आनन्द मज्जाले प्राप्त गर्न सकिन्छ । शैलुङमा विशेषगरी नयाँ वर्षको दिन र
साउने संक्रान्तिको बेला मेला भर्नेहरु आउँछन् । यस क्षेत्रमा १२ वर्षे गोदावरी
नुहाउने मेला पनि लाग्दछ । त्यस्तै दशैंको बेला रमाउन जानेहरु पनि उत्तिकै छन् ।
यस क्षेत्रमा साउन–भदौमा चौंरी लगेर अस्थायी बसोबास गरेर चराउने गर्छन् । शैलुङमा
चौंरीको छुर्पी पाइन्छ । शैलुङमा लगायत तरकारी खेती पनि राम्रो हुन्छ । शैलुङको
आलुलाई मुडेको आलुभन्दै काठमाडौंको बजारमा पाइन्छ ।
शैलुङ जान
काठमाडौंको कोटेश्वरबाट १०७ किलोमिटरको यात्रामा बनेपा–धुलिखेल–पाँचखाल–दोलालघाट–खाडीचौर–मुडेबजार
हुँदै पुग्न सकिन्छ । मुडेबजारबाट करिव २० किलोमिटर भन्दा बढि अफरोडको बाटोमा
देउराली–बाघखोरबजार हुँदै कालापानी पुग्न सकिन्छ । पौने घन्टाको उकालो पदमार्ग
चढेपछि शैलुङमा रहेको भ्यू टावरमा पुग्न सकिन्छ । सैलुङमा ऋतुअनुसार परिवर्तनका
रुपहरु देखिन्छ । वर्षाभरी सैलुङ फूल लगायत विभिन्न फूलहरु फूलेर प्रकृतिलाई
सुन्दरता दिन्छ । दोलखाको सैलुङ गाउँपालिकामा रहेको सैलुङ पर्यटकका लागि अति रमणीय
स्थल हो । सैलुङमा चैत–वैशाखमा लालीगुराँस र माघ फागुनमा हिउँले पर्यटकलाई
लोभ्याउँछ । यस्तै बर्खामास भने यहाँ विभिन्न जडीबुटी, फूलहरु
फुल्दछन् । यस क्षेत्रको फेदीमान लालीगुराँस र धुपीका बोटहरुको जंगल रहेको छ ।
फूलैफुलको सुन्दरताले भरिएको छ सैलुङ । घुम्नका लागि यहाँ अथाह ठाउँ छन् ।
सांस्कृतिक कथाहरु छन् । थुम्कालाई बादलले बेहुलीलाई घुम्टो ओढेझै गर्छ, घरी आउँछ
घरी जान्छ । सैलुङलाई हामीले एक सिजनमा मात्रै घुमेर इच्छा पूरा हुँदैन । यसको
लागि हामी हरेक सिजनमा पुग्नुपर्छ । जसले सोही सिजनमा काया फेर्दछ । शैलुङबाट
रोल्वालिङ हिमश्रृङ्खलाहरु देख्न सकिन्छ । त्यस्तै गौरीशंकर हिमाल, सगरमाथा
र जुगल हिमाललाई राम्रोसँग देख्न सकिन्छ । एकपटक पुग्नै पर्ने गन्तव्य शैलुङ हो ।
पर्यटकहरुलाई पर्खिरहेको छ शैलुङ । एकपटक शैलुङ आउने पर्यटकलाई स्वागत गर्न
दिनकुरीरहेका छन् शैलुङबासी ।
घुम्नैपर्ने शैलुङका सय थुम्का
दोलखाको शैलुङस्थित ‘सय थुम्का’ देशकै रमणीय पर्यटकीयस्थलका
रूपमा परिचित छ । समुन्द्री सतहबाट करिब तीन हजार चार सय मिटर उचाइमा अवस्थित ‘सय
थुम्का’ जिल्लाको दक्षिण, पश्चिममा पर्छ । शैलुङ डाँडा प्रकृतिका
हिसाबले मात्रै सुन्दर नभई धार्मिकस्थलका रूपमा पनि प्रसिद्ध छ । यहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे
मेलाजस्ता चाडपर्वमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
शैलुङ डाँडामा एक सय वटा मनमोहक थुम्का छन् । तिनै
थुम्काथुम्कीलाई सय थुम्की भनेर पर्यटकीय गन्तव्यका रुपमा विकास गरिएको हो । ती
प्रत्येक थुम्काबाट पर्यटकले आकर्षक दृश्यावलोकन गर्न पाउँछन् । शैलुङ नाम तामाङ
भाषाबाट राखिएको हो । स्थानीयका अनुसार तामाङ भाषामा ‘शै’ भनेको सय र ‘लुङ’ भनेको
थुम्का भन्ने बुझिन्छ ।
ग्रेटवालाको झल्को दिन सक्ने हाम्रो शैलुङ
शैलुङडाँडा पुग्न नपाउँदै दोलखाको कालापानीबाट चीनको
ग्रेटवालको झल्को दिने ढुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ । यो सिँढीबाट
शैलुङका थुम्कामा जान सहज हुने स्थानीयको भनाइ छ । सिँढी नहुँदा विगतमा पर्यटकले
बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो
। तर अहिले त्यो बाध्यता छैन ।
कसरी पुग्ने शैलुङका सय थुम्का ?
शैलुङ क्षेत्र पुग्न काठमाडौंबाट मुडेसम्म पुगेपछि
चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघु जिरी सडक
खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुङ
डाँडामा पुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो छ ।
सबैभन्दा सजिलो र सहज यात्रा भने काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट
चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब एक सय ३० किलोमिटर सडक
पार गरेपछि शैलुङको सय थुम्का पुग्न सकिन्छ । यहाँ बास बस्नका लागि पर्यटक लक्षित
होटल प्रशस्त खुलेका छन् ।
सय थुम्का क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक बढ्न
थालेपछि स्थानीयको अगुवाइमा प्रहरी चौकी माग गरिएको छ । जिल्ला प्रशासन कार्यालय
दोलखाले प्रहरी चौकीका माग भए पनि निर्णय भईनसकेको जनाएको छ । यहाँ घुम्न आउने
पर्यटकलाई स्थानीयले सहज वातावरणमा डुल्न–घुम्नका लागि सहजीकरण गर्ने गरेका छन् ।
शैलुङ आफैंमा प्राकृतिक भ्यू टावरका रुपमा परिचित
डाँडामा आन्तरिक पर्यटकको चहलपहल हुन्छ । सूर्योदयसँगै
हिमालको लर्कन हेर्न पाउँदा पर्यटक रमाउँछन् । उनीहरू हिउँमै लडिबुडी खेल्छन्
।
जैविक विविधताका हिसाबले हेर्दा वनजंगल, जडीबुटी, जंगली
जनाबर र चराचुरुङीको भण्डारै हो शैलुङ । शैंलुङ प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र
बौद्धमार्गीको साझा तिर्थ पनि हो । डाँडामा गुरु पद्मसंभवका पाइला, माने र
चैत्य छन् । त्यस्तै शैलुङेश्वर महादेव र गोदावरी गुफा पनि छ । यहाँ जनैपूर्णेमा
ठूलो मेला लाग्छ । यो क्षेत्र तामाङ, शेर्पा, नेवार, मगर, थामी, क्षेत्रीलगायत
जातजातिको सुन्दर फूलबारी हो । सबै आपसमा मिलेर बसेका छन् । दोलखाकै कालिन्चोक
चम्केको धेरै वर्ष भएको छैन । अब चम्कने पालो शैलुङको । पुस–माघमा हिउँ, चैत–वैशाखमा
गुराँस, असार–साउनमा हरियाली र असोज–कात्तिकमा हिमालको सौन्दर्यमा
खुल्छ शैलुङ । पर्यटकको स्वागतमा मुस्कुराउँछ शैलुङ । खाना र बासका लागि
खोलाखर्कमा सामान्य होटल छन् । क्याम्प फायरका नाउँमा राती अबेलासम्म बाहिर नबसौं, यसले
स्वास्थ्य र अध्यात्मिक वातावरणमा असर पु¥याउँछ । यो मनोहर
ठाउँ घुमेर फर्कंदा मिठो अनुभूतिसँगै परिवार, इष्टमित्र र साथीसंगीका
लागि चौंरीको घ्यु, छुर्पी, सुकुटी, आलु, किवी, च्याउलगायत
कोसेली ल्याउन नभुलौं । लोकल उत्पादन किनेर उद्यमशीलता विकासमा सहयोग पु¥याऔ ।
उपत्यकाबाट के–कसरी जान सकिन्छ शैलुङ
काठमाडौँबाट १२५ किलोमिटरको दूरीमा मुडे बजार हुँदै शैलुङको
बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कालापानीबाट केही
समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । ३३ सय मिटर अग्लो शैलुङ डाँडाबाट
शैलुङको सय थुम्का, गौरीशङ्कर हिमाल, रोल्वालिंग
हिमशृङ्खला साथै दोलखा रामेछाप र सिन्धुपाल्चोकको सुन्दर रमणीय दृश्यहरुलाई सजिलैसँगले
मनोरञ्जन लिन र अवलोकन गर्न सकिने कुरा शैलुङ गाउँपालिकाको पूर्व अध्यक्ष भरत
दुलाल बताउँछन् । दोलखाको शैलुङ काठमाडौं उपत्यकाबाट दूरीको हिसाबले धेरै टाढा छैन
तर सडक सञ्जाल र पूर्वाधारमा केही कमी भएकै कारण आज जुन रुपबाट शैलुङ अघि
बढ्नुपर्ने थियो त्यो भने हुन सकिरहेको छैन । केही दुर्गम ठाउँ वा घुमफिर गर्नका
निम्ति जाने वा आउने पर्यटकहरुका लागि भने यस ठाउँ केही त्यस्तो दुर्गम भने हुँदै
होइन । शैलुङ बेस क्याम्प खोलाखर्कसम्म मोटरबाइक, जिप वा बसबाट
सजिलै यात्रा गर्न सकिन्छ । काठमाडौंबाट नेपालथोकहुँदै १२१ किलोमिटर दूरीमा छ
खोलाखर्क । त्यसैगरि अर्को रूटमा काठमाडौंबाट सिन्धुपाल्चोकको मुडेहुँदै खोलाखर्क
१३२ किमि दूरीमा पर्छ ।
वन र खनिजले सु–सजिएको शैलुङ
दश वर्गकिलोमिटरमा फैलेको शैलुङमा एक दर्जन सामुदायिक वन
छन् । त्यहाँ १०८ भन्दा बढी किसिमका जडीबुटी पाइन्छ । साथमा किसिम किसिमका जनावर र
चराचुरुङ्गी पनि । किंवदन्ती अनुसार तत्कालीन बौद्ध गुरुले मुठीमुठी चामल राखेका
थिए । त्यही मुठी बढेर थुम्का बनेको रे । डाँडामा चैत्य, गुरु
पद्मसंभवका पाइला र शैलुङेश्वरको मन्दिर छ । त्यसैले हिन्दू र बौद्धमार्गीको साझा
तीर्थस्थल बनेको छ शैलुङ । डाँडामा तीन वटा ठूला ढुङ्गा छन् । बाघ, गाई र
गंगटो आकारका । तिनलाई भक्तजन पुज्छन् । त्यति मात्र होइन, बौद्ध
मन्त्र लेखिएका झण्डा अर्थात् धज्र्यू र लुङदारले डाँडा रंगीन छन् । पर्यटन
अभियन्ता दाबा सङबु शेर्पाका अनुसार त्यहाँका चैत्यमा बत्ती बाल्दा काठमाडौंको
स्वयम्भूनाथ र बौद्धनाथमै बाले सरह पुण्य मिल्छ । डाँडामा दुई पटक ठूलो मेला लाग्छ
। जनै पूर्णिमा अघि बौद्धमार्गीको भीड लाग्छ भने बाला चर्तुदशीमा हिन्दूको ।
पितृको सम्झनामा बत्ती बालेर बौद्धमार्गी मन्त्र जप्छन् । हिन्दू सत्बीज छरेर पितृ
तार्छन । त्यसैगरी कुशे औंशी, जनै पूर्णिमा र ल्होसारमा पनि यहाँ
मेला लाग्छ ।
डाँडाको एउटा ओढारमा बसेका छन् शैलुङेश्वर महादेव । महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ । मन्दिर नजिकै गोदावरी र धर्म नामका दुइटा गुफा छन् । गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्छ । त्यहाँ दूध कुण्ड छ । मेला लाग्दा मात्र कुण्डबाट दूध झर्ने शेर्पाको भनाइ छ । सरकारले घोषणा गरेको नेपालको एक सय वटा प्रमुख पर्यटकीय गन्तव्यमा परेको स्थान मध्यको एक हो, शैलुङ । यो प्रकृतिको सुन्दर सृजना मात्र होइन, हिन्दू र बौद्धमार्गीको साझा तीर्थ यात्रा समेत हो । त्यसैले यसको एकीकृत विकासका लागि सम्बधित सबै निकाय बेलामा नै जाग्नुपर्दछ ।