काठमाडौँ । नेपाल प्रहरी वि.सं. २०१२ सालमा स्थापना भएदेखि
नै देशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र सामाजिक
स्थिरताको मूल आधारका रूपमा स्थापित हुँदै आएको छ। यस लामो यात्रामा संगठनले
अनेकौं चुनौती, राजनीतिक परिवर्तन, सामाजिक उतारचढाव
र सुरक्षा जोखिमहरू सामना गर्दै आएको छ। समयक्रमसँगै अपराधको स्वरूप परिवर्तन हुनु, प्रविधिको
विकाससँगै साइबर अपराधजस्ता नयाँ चुनौतीहरू देखा पर्नु तथा सामाजिक संरचनामा आएको
रूपान्तरणले नेपाल प्रहरीलाई निरन्तर अनुकूलन र सुधारको बाटोमा अघि बढ्न बाध्य
बनाएको छ।
यिनै चुनौतीहरूको बीचमा नेतृत्व परिवर्तन सधैं स्वाभाविक
प्रक्रिया रहँदै आएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि सकिएपछि
संगठनभित्रका सक्षम, अनुभवी र कार्यसम्पादनमा अब्बल
अधिकृतहरूबीच प्रतिस्पर्धात्मक रूपमा नेतृत्व हस्तान्तरण हुँदै आएको छ। यस्तो
नेतृत्व हस्तान्तरणले संगठनलाई नयाँ ऊर्जा, नवीन सोच
र सुधारोन्मुख दृष्टिकोण प्रदान गर्दै आएको छ, जसले प्रहरी
संगठनलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउँदै लगेको छ।
यसै सन्दर्भमा, ३३औं प्रहरी
महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की नेपाल प्रहरी संगठनभित्रको एक विशिष्ट, साहसी, अनुशासित
र रूपान्तरणकारी नेतृत्वको रूपमा स्थापित नाम हुन्। उनको जीवन, सेवा र
योगदान केवल व्यक्तिगत सफलता मात्र होइन, नेपाल प्रहरीको
संस्थागत सुधार, पेशागत सुदृढीकरण र जनविश्वास निर्माणको महत्वपूर्ण अध्याय
हो। उनले संगठनभित्र पारदर्शिता, जवाफदेहिता र
व्यावसायिक संस्कारलाई प्रवर्द्धन गर्दै प्रहरी–नागरिक सम्बन्धलाई अझ सुदृढ बनाउन
महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। साथै, विपद् व्यवस्थापन, अपराध
नियन्त्रण र सूचना प्रवाह प्रणालीमा गरिएको सुधारले नेपाल प्रहरीलाई आधुनिक, उत्तरदायी
र जनमुखी संस्थाका रूपमा विकास गर्न उल्लेखनीय योगदान पुर्याएको छ।
बाल्यकाल: संघर्ष, संस्कार र
आत्मनिर्माण
गुल्मी जिल्लाको मालिका गाउँपालिका ७ मा १५ साउन २०२९ मा
जन्मिएका दानबहादुर कार्कीको बाल्यकाल ग्रामीण जीवनको सरलता, कठोरता र
आत्मनिर्भरता बीच बित्यो। उनी सानैदेखि मेहनती, जिम्मेवार र
अनुशासित स्वभावका थिए। घरको काममा आमा–बुबालाई सहयोग गर्ने, भाँडा
माझ्ने, घाँस–दाउरा गर्ने जस्ता सामान्य कामहरूले नै उनको जीवनमा
जिम्मेवारीबोधको आधार तयार गर्यो। यही संस्कारले उनलाई भविष्यमा एक कर्तव्यनिष्ठ
प्रहरी अधिकारी बन्न प्रेरित गर्यो।
विद्यालय जीवनमा उनी अत्यन्त मेधावी थिए। पढाइमा उत्कृष्ट
प्रदर्शनका कारण उनी कक्षा ३ बाट सिधै कक्षा ५ मा उक्लिएका थिए, जुन उनको
क्षमता र लगनशीलताको प्रमाण हो। साथै, वक्तृत्वकला, खेलकुद र
सांस्कृतिक गतिविधिमा पनि उनी सधैं अग्रपंक्तिमा रहन्थे।
- शिक्षा र काठमाडौंको यात्रा
उच्च शिक्षा हासिल गर्न उनी काठमाडौं प्रवेश गरे।
प्रारम्भमा पारिवारिक आर्थिक सीमितताबीच संघर्ष गर्दै उनले होस्टेल जीवन बिताए।
उनले ल क्याम्पस र आरआर क्याम्पसबाट स्नातक तह पूरा गरे। कलेज जीवनका ती दिनहरू
उनका लागि अत्यन्तै संघर्षपूर्ण भए। कहिले ट्युसन फि जुटाउन समस्या, कहिले
बसोबासको अभाव, त कहिले दैनिक खर्चको व्यवस्थापन—यी सबै कठिनाइका बीच पनि
उनले आफ्नो अध्ययनलाई कहिल्यै रोकेनन्। सीमित स्रोतसाधनमा पनि आत्मनिर्भर बन्ने
प्रयास गर्दै उनले अध्ययनसँगै सानातिना कामहरू पनि गरे। साथीहरूबीच सहयोगी, अनुशासित
र लगनशील विद्यार्थीका रूपमा उनी परिचित थिए। काठमाडौंको संघर्षपूर्ण जीवनले उनलाई
आत्मनिर्भर, दृढ र लक्ष्यप्रति केन्द्रित बनायो। यही चरणमा उनले देशको
सेवा गर्ने दृढ निर्णय लिए।
नेपाल प्रहरीमा प्रवेश: एउटा नयाँ अध्याय
२०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) को रूपमा
नेपाल प्रहरीमा प्रवेश गरेसँगै कार्कीको जीवनले नयाँ मोड लियो। सुरुको तलब चार
हजार रुपैयाँ मात्र भए पनि उनको उद्देश्य सानो थिएन—देश र जनताको सेवा। सीमित साधन, चुनौतीपूर्ण
कार्य वातावरण र अस्थिर सुरक्षा परिस्थितिबीच पनि उनले आफ्नो कर्तव्यप्रति दृढ
प्रतिबद्धता कायम राखे।
द्वन्द्वकालीन संवेदनशील परिस्थितिमा प्रहरी सेवामा प्रवेश
गरेका उनी तत्कालीन कठिन समयका साक्षी मात्र होइन, सक्रिय
सहभागी पनि बने। जोखिमपूर्ण पोस्टिङ, तनावपूर्ण ड्युटी
र अनिश्चित सुरक्षा अवस्थाबीच उनले धैर्य, साहस र नेतृत्व
क्षमता प्रदर्शन गरे। सोही अनुभवले उनलाई व्यवहारिक रूपमा अझ परिपक्व बनाउँदै
संगठनभित्र जिम्मेवार र भरोसायोग्य अधिकृतका रूपमा स्थापित गरायो। निरन्तर मेहनत, अनुशासन
र कर्तव्यनिष्ठताले उनको पेशागत यात्रालाई मजबुत आधार प्रदान गर्यो।
इन्स्पेक्टरदेखि आईजीपीसम्म: एक संघर्ष, समर्पण र
सफलताको कथा
आईजीपी कार्कीको पदोन्नति यात्रा निरन्तर मेहनत, कार्यकुशलता
र परिणाममुखी नेतृत्वको स्पष्ट प्रतिबिम्ब हो। सेवा अवधिभर उनले प्रत्येक
जिम्मेवारीलाई केवल औपचारिक दायित्वका रूपमा मात्र नभई संगठन सुधार र रूपान्तरणको
अवसरका रूपमा उपयोग गरे।
प्रत्येक पदमा उनले जिम्मेवारी पूरा गर्नुमा मात्र सीमित
नभई नयाँ अभ्यासको सुरुआत गरे। कार्यसम्पादनमा पारदर्शिता, अनुशासन
र जवाफदेहितालाई प्राथमिकता दिँदै उनले मातहत निकायहरूमा व्यावसायिक संस्कार विकास
गर्ने प्रयास गरे। साथै, प्रहरी–नागरिक सम्बन्ध सुदृढ
बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने र आन्तरिक
व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउने दिशामा उनले निरन्तर पहल गरे। उनको नेतृत्व
शैली आदेशात्मक मात्र नभई प्रेरणादायी पनि रह्यो, जसले
संगठनभित्र कार्यसंस्कृतिमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको
देखिन्छ।
डीएसपी हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरको कमान्ड
सम्हाल्दा उनले शहरी सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण
र जनसम्पर्कमा उल्लेखनीय दक्षता प्रदर्शन गरे। राजधानीको व्यस्त क्षेत्रमा काम
गर्दा उनले ट्राफिक व्यवस्थापन, अपराध रोकथाम र
समुदायसँगको सहकार्यलाई सन्तुलित रूपमा अघि बढाउँदै आफ्नो व्यावसायिक क्षमताको
परिचय दिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रहँदा उनले संवेदनशील
सामाजिक तथा राजनीतिक परिवेशबीच शान्ति–सुरक्षा कायम राख्ने चुनौतीपूर्ण
जिम्मेवारी सफलतापूर्वक निर्वाह गरे।
प्रहरी उपरीक्षक (एसपी) का रूपमा कास्की र कपिलवस्तु
जिल्लाको कमान्ड सम्हाल्दा उनले पर्यटन क्षेत्रको सुरक्षा व्यवस्थापनदेखि
सीमावर्ती अपराध नियन्त्रणसम्म महत्वपूर्ण भूमिका निर्वाह गरे। कास्कीमा पर्यटकीय
सुरक्षालाई प्राथमिकतामा राख्दै उनले अपराध न्यूनीकरणमा प्रभावकारी रणनीति अपनाए
भने कपिलवस्तुमा सीमापार अपराध नियन्त्रण, तस्करी रोकथाम र
सामुदायिक समन्वयलाई सुदृढ बनाए।
त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंको कमान्ड सम्हाल्दै
उनले देशकै सबैभन्दा संवेदनशील र व्यस्त जिल्लामा शान्ति–सुरक्षा व्यवस्थापन, अपराध
अनुसन्धान तथा ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाए। राजधानीको जटिल सुरक्षा
चुनौतीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै उनले आफ्नो नेतृत्व क्षमताको
अर्को उचाइ प्रस्तुत गरे।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) का रूपमा उनले लुम्बिनी
प्रदेशको कमान्ड सम्हाल्दै प्रदेशस्तरीय सुरक्षा संरचनालाई व्यवस्थित, योजनाबद्ध
र परिणाममुखी बनाउने महत्वपूर्ण कार्य गरे। अपराध नियन्त्रण, विपद्
व्यवस्थापन, सीमावर्ती सुरक्षा तथा राजस्व छली नियन्त्रणमा उनले देखाएको
सक्रियता उल्लेखनीय रह्यो।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि उनले
प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवश्रोत विकास विभागको नेतृत्व गर्दै सरुवा, बढुवा
तथा प्रशासनिक व्यवस्थापनलाई पारदर्शी र मापदण्डमा आधारित बनाउने पहल गरे। साथै, उपत्यका
प्रहरी कार्यालयको कमान्ड सम्हाल्दै उनले काठमाडौं उपत्यकाको समग्र सुरक्षा
व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने काम गरे।
यसरी विभिन्न तह र जिम्मेवारीहरूमा आफूलाई निरन्तर प्रमाणित
गर्दै उनले इन्स्पेक्टर पदबाट सुरु गरेको आफ्नो पेशागत यात्रा प्रहरी महानिरीक्षक
(आईजीपी) सम्म पुर्याएका छन्। यो यात्रा केवल पदोन्नतिको क्रम मात्र होइन, प्रत्येक
चरणमा संचित अनुभव, नेतृत्व विकास र संगठनप्रतिको
समर्पणको सशक्त उदाहरण पनि हो।
• प्रहरी
निरीक्षक २०५४ चैत १८
• डीएसपी २०६६
मंसिर २६
• एसपी २०७४
साउन १९
• एसएसपी २०७९
साउन ३
• डीआईजी २०८१ जेठ
१३
• एआईजी २०८२
वैशाख ११
• आईजीपी २०८२
कार्तिक २७
- नेपाल प्रहरीको रूपान्तरणकारी नेतृत्व: आईजीपी कार्कीको
योगदान
आईजीपी दानबहादुर कार्कीले प्रहरी संगठनलाई जनमुखी बनाउने
प्रयासलाई उच्च प्राथमिकतामा राख्दै संस्थागत सुधारका अनेक पहलहरू अघि बढाए।
नागरिकसँग प्रत्यक्ष संवाद, नियमित सार्वजनिक सुनुवाइ, मिडिया
समन्वय, सामाजिक सञ्जालमार्फत सूचना प्रवाह तथा जनचेतनामूलक
कार्यक्रमहरूलाई उनले व्यवस्थित र संस्थागत स्वरूप प्रदान गरे। प्रहरी संगठनलाई “दण्डात्मक
संस्था मात्र होइन, सेवा–उन्मुख संस्था” बनाउने उनको
दृष्टिकोण व्यवहारमै रूपान्तरण हुँदै गएको देखिन्छ।
उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सशक्त बनाउँदै
स्थानीय तहदेखि केन्द्रसम्म जनसहभागितामूलक सुरक्षा प्रणाली विकास गर्ने प्रयास
गरे। यसले प्रहरी र नागरिकबीचको दूरी घटाउँदै आपसी विश्वास र सहकार्यलाई मजबुत
बनाएको छ। अपराध नियन्त्रण मात्र होइन, अपराध रोकथाम र
सामाजिक सचेतना विस्तारमा पनि उनले विशेष ध्यान दिए।
- सूचना प्रणाली, डिजिटल
रूपान्तरण र मानव संसाधन सुधार
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरी संगठनलाई
आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउने दिशामा उल्लेखनीय कदमहरू
चालिएका छन्। विशेषगरी सूचना प्रणालीको सुधार र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा
राख्दै उनले संगठनभित्र कार्यसम्पादनलाई व्यवस्थित, पारदर्शी
र परिणाममुखी बनाउने आधार तयार गरेका छन्।
डिजिटल रिपोर्टिङ प्रणाली, मासिक
कार्यसम्पादन मूल्याङ्कन, अनलाइन समन्वय प्रणाली तथा
डेटा–आधारित निर्णय प्रक्रियाको प्रयोगले संगठनभित्र पारदर्शिता र कार्यक्षमता
दुवैमा उल्लेखनीय वृद्धि भएको छ। सूचना प्रवाहलाई छिटो, विश्वसनीय
र सहज पहुँचयोग्य बनाउँदै उनले प्रहरी प्रशासनलाई परम्परागत ढाँचाबाट डिजिटल
युगतर्फ उन्मुख गराएका छन्। यसले निर्णय प्रक्रियालाई मात्र होइन, जवाफदेहितालाई
पनि सुदृढ बनाएको छ।
यसैसँगै, मानव संसाधन
व्यवस्थापनमा पनि उनले सुधारका महत्वपूर्ण पहल गरेका छन्। सरुवा, बढुवा र
काज प्रणालीलाई पूर्ण रूपमा पारदर्शी, मापदण्ड–आधारित र
निष्पक्ष बनाउन विशेष ध्यान दिँदै “तीनपुस्ते
रेकर्ड प्रणाली” लागू
गरिएको छ। यस प्रणालीले योग्यतामा आधारित व्यवस्थापन संस्कृतिलाई संस्थागत गर्दै
सिफारिस र अनियमितताको सम्भावनालाई न्यून बनाएको छ।
कर्मचारी मूल्याङ्कन प्रक्रियालाई तथ्य–आधारित र परिणाममुखी
बनाउने अभ्यासले संगठनभित्र सकारात्मक प्रतिस्पर्धा, पेशागत
निष्पक्षता र आपसी विश्वासको वातावरण निर्माण गरेको छ। समग्रमा, सूचना
प्रविधि र मानव संसाधन व्यवस्थापनमा गरिएको यी सुधारहरूले नेपाल प्रहरीलाई आधुनिक, उत्तरदायी
र पारदर्शी संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका छन्।
- कठोर कमान्डर, कोमल
हृदय: आईजीपी दानबहादुर कार्कीको द्वैध व्यक्तित्व
प्रहरी संगठनभित्र दानबहादुर कार्की कडा स्वभावका कमान्डर का रूपमा
परिचित छन्। मातहतका प्रहरी कर्मचारीहरू उनीप्रति सम्मान र अनुशासनका कारण
स्वाभाविक रूपमा गम्भीर र सचेत रहने गर्छन्। कमान्डमा कठो शैली अपनाउने उनको
नेतृत्वलाई धेरैले परिणाममुखी, स्पष्ट र
अनुशासित मान्छन्। आदेशमा स्पष्टता, कार्यान्वयनमा
कडाइ र जिम्मेवारीमा कुनै सम्झौता नगर्ने उनको कार्यशैलीले संगठनभित्र व्यावसायिक
अनुशासन कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
जेन्जी प्रदर्शनपछिको अत्यन्त संवेदनशील र चुनौतीपूर्ण
अवस्थामा, आईजीपीको निर्देशनअनुसार भदौ २४ गते उपत्यका प्रहरी
कार्यालय, रानीपोखरीमा कमान्ड सम्हाल्न तयार हुनु उनको साहस, आत्मविश्वास
र कर्तव्यनिष्ठाको ज्वलन्त उदाहरण हो। आन्दोलनपछि प्रहरी संगठन अस्तव्यस्त बनेको, संरचना
क्षतिग्रस्त भएको र मनोबल कमजोर बनेको अवस्थामा नेतृत्व सम्हाल्नु कुनै सामान्य
जिम्मेवारी थिएन। तर, कार्कीले त्यसलाई अवसरका रूपमा
लिएर संगठनलाई पुनः सुदृढ बनाउने दिशामा निर्णायक भूमिका खेले। यही चरणलाई उनको
आईजीपी यात्राको महत्वपूर्ण मोडका रूपमा लिन सकिन्छ।
तर, उनको व्यक्तित्व केवल कठोर
कमान्डरमा सीमित छैन। फौजी अनुशासनभित्र रहने उनीभित्र एक संवेदनशील, भावनाशील
र सिर्जनशील व्यक्तित्व पनि लुकेको छ। उनी एक कुशल गीतकारसमेत हुन्, जसले
प्रहरी जीवनका अनुभूति, संघर्ष र समर्पणलाई शब्दमा उतार्ने
क्षमता राख्छन्। ड्युटीमा कठोर देखिने उनी गीत लेख्दा भने अत्यन्त भावुक बन्ने
गर्छन्।
कार्कीले लेखेका गीतहरूको रेकर्डिङ तथा म्युजिक भिडियो
निर्माणमा सँगै काम गरेका सरोज ओलीका अनुसार, “गीतको भावनासँगै
उहाँ आफैं पनि भावुक बन्नुहुन्छ, कतिपय बेला आँखा
रसाउँछ।” यसबाट उनको भित्री मानवीय पक्ष झल्किन्छ, जसले उनी
केवल आदेश दिने अधिकारी मात्र होइन, भावना बुझ्ने
संवेदनशील नेतृत्व पनि हुन् भन्ने देखाउँछ।
प्रहरीको औपचारिक तथा अनौपचारिक कार्यक्रममा आजभोलि
गुन्जिने एक लोकप्रिय गीत—
“हर गाउँ हर नगरी, फूलको वासना सरी, नागरिकलाई
मानी सर्वोपरि…”
यिनै शब्दहरू कार्कीको कलमबाट जन्मिएका हुन्। यस गीतले
प्रहरीको मूल भाव—नागरिकप्रतिको समर्पण—लाई अत्यन्त सशक्त रूपमा अभिव्यक्त गर्छ।
त्यस्तै,
“आमा, म त फर्केर आएँ—खरानीबाट उठेर आएँ…”
भन्ने भावनात्मक अभिव्यक्तिले द्वन्द्व, जोखिम र
कठिन परिस्थितिमा खटिने प्रहरीहरूको पीडा, संघर्ष र
समर्पणलाई मार्मिक रूपमा प्रस्तुत गर्छ। यो केवल गीत होइन, प्रहरी
जीवनको यथार्थ कथा हो—जहाँ व्यक्तिगत रहरहरू त्यागेर राष्ट्र र नागरिकको सुरक्षाका
लागि आफूलाई समर्पित गरिन्छ।
कार्कीका सिर्जनाहरूले देखाउँछन् कि प्रहरी जीवन केवल
कर्तव्य र अनुशासनमा सीमित छैन, त्यसभित्र
भावनाहरू, त्याग, पीडा र आशाका
कथाहरू पनि लुकेका छन्। उनका गीतहरूले प्रहरी र नागरिकबीच भावनात्मक सम्बन्ध
जोड्ने काम गरेका छन्।
२०८१ सालमा उनले दसैँ रमाइलो बोलको गीत सार्वजनिक गरेका थिए
भने “आँखा झिमझिम भो” र “गुन्यु चोली
पटुकी” जस्ता गीतहरू यसअघि नै सार्वजनिक भइसकेका छन्। यी सिर्जनाहरूले
उनको सांगीतिक रुचि मात्र होइन, नेपाली समाज, संस्कृति
र भावनासँगको गहिरो सम्बन्धलाई पनि उजागर गर्छ।
यसरी हेर्दा, दानबहादुर कार्की
एकातर्फ कडा, अनुशासित र परिणाममुखी प्रहरी कमान्डर हुन् भने अर्कोतर्फ
संवेदनशील, सिर्जनशील र मानवीय भावना बोकेको व्यक्तित्व पनि हुन्। यही
द्वैध विशेषताले उनलाई एक पूर्ण, सन्तुलित र
अनुकरणीय नेतृत्वका रूपमा स्थापित गरेको छ—जहाँ कठोरता र कोमलता दुवै आवश्यक
सन्तुलनमा देखिन्छन्।
१५० दिनको नेतृत्व: जेन्जी
आन्दोलनपछि पुनःस्थापना साथै सफल निर्वाचन
आईजीपीको रूपमा प्रारम्भिक १५० दिनमै उनले संगठनमा
उल्लेखनीय सुधार र परिणाममुखी नेतृत्वको स्पष्ट छाप छोडे। यस छोटो अवधिमा नै नेपाल
प्रहरी संगठनले सुरक्षा व्यवस्थापन, आन्तरिक प्रशासन
र जनसेवा प्रवाहमा देखिने गरी सुधार अनुभव गर्यो। विशेषगरी निर्वाचन सुरक्षा
सफलतापूर्वक सम्पन्न हुनु, शान्तिपूर्ण मतदान प्रक्रिया
सुनिश्चित हुनु, संगठनात्मक मूल्याङ्कन प्रणालीमा सुधार ल्याइनु, कर्मचारीहरूको
मनोबल वृद्धि हुनु र आन्तरिक प्रशासन सुदृढीकरण हुनु यी सबै उपलब्धिहरू उनको
नेतृत्व क्षमताको स्पष्ट प्रमाणका रूपमा स्थापित भए।
उनको नेतृत्व केवल कागजी सुधारमा सीमित रहेन, बरु
व्यवहारिक रूपमा संगठनलाई सक्रिय, जिम्मेवार र
परिणाममुखी बनाउने दिशामा केन्द्रित रह्यो। संगठनभित्रको विश्वास, अनुशासन
र समन्वयलाई मजबुत बनाउँदै उनले प्रहरी संरचनालाई पुनः सक्रिय र प्रभावकारी बनाउन
सफल भए।
विशेषगरी, जेन्जी
आन्दोलनपछिको अवस्था नेपाल प्रहरीका लागि अत्यन्त कठिन, संवेदनशील
र चुनौतीपूर्ण समय थियो। आन्दोलनका क्रममा प्रहरीका भवनहरूमा आगजनी भएको, महत्वपूर्ण
संरचनाहरू क्षतिग्रस्त भएको तथा हातहतियारसमेत लुटिएको अवस्थाले संगठनको मनोबल
गम्भीर रूपमा प्रभावित भएको थियो। यस्तो अवस्थामा संगठनलाई पुनः सशक्त बनाउनु, मनोबल
उच्च राख्नु र सेवा प्रवाहलाई निरन्तरता दिनु कुनै सामान्य कार्य थिएन, यो एक
गम्भीर नेतृत्व परीक्षण थियो।
तर यही चुनौतीपूर्ण परिस्थितिमा आईजीपी कार्कीको नेतृत्व
क्षमताले आफूलाई प्रमाणित गर्यो। उनले तत्काल संगठनात्मक पुनर्संरचना, सुरक्षा
पुनःस्थापना र मनोबल पुनर्निर्माणलाई प्राथमिकता दिए। मातहतका सबै तहमा प्रत्यक्ष
संवाद, प्रेरणादायी निर्देशन र स्पष्ट कार्ययोजना लागू गर्दै उनले
प्रहरी संगठनलाई पुनः सक्रिय बनाउने अभियान सुरु गरे।
हातहतियार लुटिएको, भवनहरू
क्षतिग्रस्त भएको र कर्मचारीहरूमा अस्थिरता देखिएको अवस्थामा पनि उनले संयमता, धैर्य र
दृढ नेतृत्वका साथ संगठनलाई पुनः एकताबद्ध गर्न सफल भए। स्रोत–साधनको सीमितताबीच
पनि उनले उपलब्ध जनशक्ति, समन्वय र रणनीतिक व्यवस्थापनलाई
प्रभावकारी रूपमा उपयोग गरे। यसले संगठनभित्र विश्वास र आत्मबल पुनः स्थापित गर्न
महत्वपूर्ण भूमिका खेल्यो।
यही कठिन परिस्थितिलाई पार गर्दै छोटो समयमै उनले नेपाल
प्रहरीलाई पुनः पुरानो अवस्थामा मात्र होइन, अझ सुदृढ, संगठित र
आत्मविश्वासी अवस्थामा फर्काउन सफल भए। विशेषगरी, आम
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा
सम्पन्न गराउनु उनको नेतृत्वको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानिन्छ।
निर्वाचन सुरक्षा व्यवस्थापनजस्तो संवेदनशील जिम्मेवारीलाई
उनले योजनाबद्ध रणनीति, प्रभावकारी कमाण्ड संरचना र
समन्वयात्मक प्रणालीमार्फत सफलतापूर्वक सम्पन्न गरे। सातै प्रदेशमा सुरक्षा
संयन्त्र सक्रिय बनाउँदै कुनै ठूलो अवरोध बिना मतदान प्रक्रिया सम्पन्न हुनु उनको
नेतृत्व क्षमताको ऐतिहासिक प्रमाण हो।
यस सम्पूर्ण प्रक्रियामा उनले प्रहरी संगठनलाई केवल आदेश
पालना गर्ने संरचना मात्र नभई जिम्मेवार, आत्मविश्वासी र
जनउत्तरदायी संस्थाका रूपमा स्थापित गर्ने प्रयास गरे। कर्मचारीहरूको मनोबल वृद्धि, आन्तरिक
प्रशासन सुदृढीकरण र संगठनात्मक मूल्याङ्कन प्रणाली सुधारले दीर्घकालीन रूपमा
संगठनलाई अझ मजबुत बनाउने आधार तयार गर्यो।
उनको नेतृत्व शैली संकटमा विचलित नहुने, निर्णयमा
स्पष्टता राख्ने र परिणाममा केन्द्रित रहने खालको देखिन्छ। कठिन परिस्थितिमा पनि
शान्त, संयमित र योजनाबद्ध रूपमा अघि बढ्ने उनको क्षमता नेपाल
प्रहरीको आधुनिक नेतृत्वमा एउटा महत्वपूर्ण उदाहरण बनेको छ।
- आईजीपी कार्कीको बाँकी कार्यकाल: अपेक्षा, अवसर र
चुनौती
प्रहरी नियमावली अनुसार उनी २०८४ साल चैत १७ गतेसम्म नेपाल
प्रहरी संगठनको नेतृत्वमा रहनेछन्। यसले उनलाई संगठनभित्र दीर्घकालीन नीति, संरचनागत
सुधार र व्यावसायिक रूपान्तरणलाई संस्थागत गर्ने पर्याप्त अवसर प्रदान गरेको छ।
नेतृत्वको बाँकी अवधिलाई धेरैले नेपाल प्रहरीको आधुनिकिकरण र जनमुखी सेवा
प्रवाहलाई अझ मजबुत बनाउने महत्वपूर्ण चरणका रूपमा हेरेका छन्।
उनले कार्यभार सम्हालेको प्रारम्भिक १५० दिनमै संगठनभित्र
देखिने गरी सुधारका संकेतहरू देखिएका छन्। आन्तरिक प्रशासन सुदृढीकरण, सूचना
प्रणालीको डिजिटल रूपान्तरण, मानव संसाधन
व्यवस्थापनमा पारदर्शिता, कर्मचारी मनोबल वृद्धि तथा
निर्वाचन सुरक्षाको सफल व्यवस्थापनजस्ता उपलब्धिहरूले उनको नेतृत्व क्षमताको
स्पष्ट चित्र प्रस्तुत गरेका छन्। छोटो समयमै देखिएको यो परिणामले संगठनभित्र नयाँ
ऊर्जा र विश्वासको वातावरण सिर्जना गरेको छ।
आगामी करिब दुई वर्षको कार्यकाललाई भने अझ महत्वपूर्ण
अवसरका रूपमा लिइएको छ। यस अवधिमा संगठनलाई प्रविधिमैत्री बनाउने, अपराध
अनुसन्धान प्रणालीलाई अझ प्रभावकारी गर्ने, सीमावर्ती
सुरक्षा सुदृढ गर्ने तथा नागरिकसँगको प्रहरी सम्बन्धलाई अझ नजिक ल्याउने अपेक्षा
गरिएको छ। साथै, संगठनभित्र व्यावसायिकता, अनुशासन
र जवाफदेहितालाई दीर्घकालीन रूपमा संस्थागत गर्ने चुनौती पनि उनीसँगै जोडिएको छ।
समाजमा बढ्दो अपेक्षा अनुसार, प्रहरी
संगठनलाई केवल सुरक्षा निकायको रूपमा होइन, एक सेवा–उन्मुख, पारदर्शी
र उत्तरदायी संस्थाका रूपमा विकास गर्ने जिम्मेवारी पनि उनको नेतृत्वमा रहेको छ।
नागरिकहरूले प्रहरी प्रति राखेको विश्वास र अपेक्षालाई व्यवहारमा रूपान्तरण गर्न
सक्नु उनको आगामी कार्यकालको मुख्य परीक्षा हुनेछ।
यसरी, प्रारम्भिक
सफलताले बलियो आधार तयार पारेको भए पनि वास्तविक नेतृत्व क्षमता आगामी दिनमा अझ
स्पष्ट हुने अपेक्षा गरिएको छ। संगठन सुधार, सुशासन र
जनविश्वास निर्माणका दृष्टिले उनको बाँकी कार्यकाल नेपाल प्रहरीको इतिहासमा
महत्वपूर्ण मोड सावित हुन सक्ने धेरैको विश्वास छ।
लेखक : दिपक राज जोशी स्थानीय सरोकार पत्रिकाका प्रबन्ध निर्देशक तथा सुरक्षा सरोकार डटकमका सञ्चालक एवं सम्पादक हुन्।