सन् १९९० मा नेपालमा ठूलो भूकम्प गएको थियो । गाउँदेखि शहरसम्मका घर ढलेका थिए । त्यतिखेर घर र मतान ढुंगा, माटो, काठले बनेको हुन्थ्यो । छत चाँहि झिंगटी, पराल, छलीलगायतको हुन्थ्यो । घर एकदेखि दुई तले हुन्थ्यो ।
घरबाहिर धेरै खुला ठाउँ हुन्थ्यो । त्यसैले, भूकम्पले जनधनको क्षति खासै भएको थिएन । घर सानो हुने र बाहिर आँगन फराकिलो हुँदा मानिसहरु सहजै भाग्न पाए । त्यो घर भूकम्पले भत्किएपनि मानिसलाई त्यति चोटपटक लागेन ।
२०४५ सालमा भूम्कप आयो । यो भूकम्पले काठमाडौं उपत्यकामा व्यापक जनधनको क्षति हुँदा गाउँघरमा खासै भएन । किनकि त्यहाँ घर र मतान ढुंगा, माटोले बनेका थिए । ०७२ वैशाख १२ गते पुनः भूकम्प गयो । त्यसको केही वर्षमै ०८० कात्तिक १७ गते पनि भुईचाँलो आयो ।
यो दुवै भूकम्पमा धेरै जनधनको क्षति पुग्यो । धेरैजसो मानिसहरु आफ्नै घरमा किचिएर मरे । बाटोमा भएका मान्छेसमेत अल्लोपल्लो घरले थिचेर मरे । कतिपयले चाँहि घरबाट निस्किन नभ्याउँदा ज्यान गुमाए । आजकल अग्ला घर बनाइन्छ । पाँच तलादेखि १९ तलासम्मको घर बनाइएको पाइन्छ ।
यस्तो अवस्थामा भूकम्प आउँदा मानिसहरु भाग्न नपाउँदै घर ढलेर मर्ने गरेका छन् । अर्को कुरा, घरहरु जोडेर बनाउन थालिएको छ । घर बनाउँदा खुला ठाउँ नै छोडिँदैन । जसले गर्दा भूकम्प आउँदा एउटा घर ढलेमा त्योसँग जोडिएको अर्को घर पनि ढल्ने र खुला ठाउँ नभएकै कारण भाग्न खोजेको व्यक्तिसमेत त्यही घरले किचेर मर्छन् ।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरियो । त्यसक्रममा भवन ठूलो भएकाले भाग्न नपाउँदा धेरैले ज्यान गुमाएका छन् । भाटभटेनी सुपरमार्केटमा मात्र दर्जनौंको शव फेला परेको छ भने जलाइएका राजनैतिक दलका नेताको घरमा पनि शव भेटिएको छ । अहिले पनि शव भेटिने क्रम जारी छ ।
०८१ चैत १५ गते काठमाडौको तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा राजा फर्काउन आन्दोलल भयो । त्यसक्रममा पनि सरकारी तथा निजी सम्पत्तिमाथि आगजनी गरिएको थियो । तीनकुनेस्थित एक भवनमा गरिएको आगजनीमा परी सञ्चार कर्ममा जुटेका एक पत्रकारले ज्यान गुमाउनुपर्यो । भवन ठूलो भएकै कारण निस्किन नभ्याउँदा उनको निधन भयो ।
अहिले जतिपनि सरकारी तथा सार्वजनिक कार्यालय छन्, ती सबै घना बस्तीमा छन् । जसले गर्दा सरकारी सम्पत्तिमा गरिएको आगजनी अन्य निजी घर, भवन, व्यापारिक केन्द्रमा समेत लागेको छ । एउटामाथि पोखिएको आक्रोशको आगोले व्यापक मानवीय र खर्बौको भौतिक क्षति हुन पुगेको छ ।
त्यसैले, अब सरकारले सरकारी तथा सार्वजनिक कार्यालय आसपास घर, भवनलगायत संरचना बनाउन दिनुहुन्न । कि सरकारी कार्यालय बस्ती नभएको ठाउँमा सार्नुपर्छ । यसो गरिए विभिन्न आन्दोलनका क्रममा सरकारी कार्यालय आगजनीबाट मात्र जोगिँदैन, भुकम्प आउँदासमेत कम क्षति हुन्छ । जेन–जी आन्दोलनमा राजनैतिक दलका नेताहरुको घरमा आगो लगाइयो ।
त्यो आगो आसपास फैलिँदा छरछिमेकको घरसमेत जलेको छ । गल्ती गर्ने एउटाले, भोग्ने अर्कैले जस्तै भएको छ । त्यसकारण, अब दलका नेताहरुले पनि घर बनाउँदा बस्ती नभएको ठाउँमा बनाउनुपर्छ । एउटाका कारण धेरैको क्षति हुनुहुन्न । जेन–जी आन्दोलनको क्रममा भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनीमा तोडफोड भयो ।
त्यही नजिककै रहेको सवारी चालक अनुमतिपत्र कार्यालय जलाइएको छ । अहिले यहाँका स्थानीय भन्छन्, ‘आगजनी र तोडफोड हुँदा हाम्रो घरमा समेत हुने त्रास भयो । हामी एकदमै डरायौं । अब यो भाटभटेनी र लाइसेन्स कार्यालय सार्नुपर्छ ।’ पहिलापहिला भाटभटेनी, सरकारी कार्यालय आफ्नो घर आसपास आएर बस्दा मानिसहरु मख्ख पर्थे ।
किनकि सरकारी कार्यालय, व्यापारिक केन्द्र घर छेउ हुँदा आफ्नो घर र जग्गाको समेत मूल्य बढ्थ्यो । तर, अहिले मानिसहरु पछुताउन थालेका छन् । उनीहरु रातभर निदाउन सक्दैन । कतिबेला ती संरचनामा तोडफोड, आगजनी हुने हो ? भन्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ । त्यसैले, धेरैले घर, जग्गा बेच्ने निधो गरिसकेका छन् ।
तर, यो मन्दी र जोखिमका बीच कसले घर, जग्गा किन्ने ? सरकारी, सार्वजनिक, व्यापारिक केन्द्र आसपास भएका घर, भवन मात्र जोखिममा छैनन्, पेट्रोल पम्प, ग्यास डिपो छेउछाउ घर भएका झनै जोखिममा छन् । यहाँ त झन् सानो घटना भएमा बस्ती नै सखाप हुने देखिन्छ । त्यसकारण अब सरकारले उपत्यकाबाट यस्ता व्यापार व्यवसाय हटाउनुपर्छ अथवा बस्ती नभएको ठाउँमा यी व्यवसाय सञ्चालनको व्यवस्था मिलाउनुपर्छ ।
भाटभटेनी, सरकारी कार्यालय मानिसको अधिक चाप हुने ठाउँमा पर्दछन् । मानिसहरु किनमेल गर्न भाटभटेनी जान्छन् भने सेवा प्राप्तिका निम्ति सरकारी कार्यालय पुग्छन् । फेरि भाटभटेनी, सरकारी कार्यालयबाहिर खुला ठाउँ कम देखिन्छ । अझ भन्नुपर्दा कतिपय सरकारी कार्यालय त अन्य घरमै जोडिएको देखिन्छ ।
अनि मानिसको अधिक चाप हुने यी ठाउँमा केही गरी भुइँचालो वा आगजनी भएमा मानिसहरु भाग्न भ्याउँदैनन् । भागेपनि बाहिर खुला ठाउँ नहुने नहुँदा भूकम्पले अर्को घर ढलेर धेरैको ज्यान जान सक्छ । यख्पि, सरकारले यसबारे सोचेको देखिँदैन
। सरकारले अस्तव्यस्त रुपमा घर बनाउन दियो । सरकारसँग कुनै योजना नै भएन । आफूलाई जस्तो र जत्रो मन लाग्यो, मानिसहरुले त्यस्तै घर बनाए । जसका कारण विपद्को समयमा धेरै जनधनको क्षति भइरहेको छ । जनताबाट चुनिएर आएका सांसदहरुले बेलैमा कानूनी बनाएनन् । कर्मचारीहरुले उमेर हुनुञ्जेल भ्रष्टाचार गर्ने अनि बुढेसकालमा राजनैतिक दलमाथि हिलो छ्यापेर सत्तामा पुग्ने ।
यसका उदाहरण खिलराज रेग्मीदेखि सुशीला कार्कीसम्म हुन् । जे जस्तो भएपनि देश बनाउन भनेकै नेताले हुन् । कर्मचारीलाई त घुस र सेवासुविधासँग मात्र मतलब हुन्छ । उपत्यकामा ७४ जिल्लाबासी बस्छन् । गाउँका घर र मतानमा ताल्चा झुण्डाएर उनीहरु शहर छिरेका छन् । शहर उकुसमुकस छ, ।
ट्राफिक जाम, वायु प्रदूषण बढेको बढ्यै छ । हिउँदमा सुख्खा, बर्खामा डुबानले उपत्यका बस्न सकिँदैन । फेरि जताततै घरैघर छ । अनि केही गरी आगजनी वा भूकम्प गएमा यहाँ ठूलो जनधनको क्षति हुने निश्चित नै छ । जुन पछिल्ला आन्दोलनले समेत देखाइसक्यो । त्यसैले, अब सरकारले यसबारे सोच्नुपर्छ ।