स्थानीय सरोकार । स्थानीय
तह नेपालको सङ्घीय संरचनाको मेरुदण्ड हो। न्याय सम्पादन भनेको साधारण भाषामा न्याय दिने प्रक्रिया हो।
अर्थात्, कुनै विवाद, झगडा वा मुद्दा आएपछि त्यसलाई कानुनको
आधारमा जाँचपडताल गरेर सही निर्णय गर्ने कामलाई न्याय सम्पादन भनिन्छ। संविधानले
गाउँपालिका र नगरपालिकालाई न्यायिक अधिकार प्रदान गर्दै स्थानीय स्तरमै विवाद
समाधान गर्ने व्यवस्था गरेको छ। यसले जनतासम्म छिटो,
सुलभ र प्रभावकारी न्याय पु¥याउने अपेक्षा गरिएको छ। तर पछिल्ला दिनमा सङ्घीय सरकारबाट
आउने निर्देशन, हस्तक्षेप
र कानुनी अस्पष्टताले स्थानीय तहको न्याय सम्पादन प्रक्रियामा बाधा पुग्ने खतरा
देखिएको छ।
जिल्लाभरका सबै पालिकाहरूले न्याय
सम्पादनमा एउटै धारणा राख्दै आफ्नो अधिकारको संरक्षणका लागि एकजुट हुनु सकारात्मक
संकेत हो। यो केवल अधिकारको सवाल मात्र होइन । स्थानीय जनताको भरोसासँग पनि जोडिएको विषय हो। यदि स्थानीय
तहलाई स्वतन्त्र रूपमा न्याय सम्पादन गर्न नदिइए,
भने संघीयताको मर्ममाथि नै प्रश्न उठ्न सक्छ।
स्थानीय न्यायिक समितिहरूले साना–साना
विवादहरू छिटो समाधान गर्दै अदालतको भार घटाउने महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
तर कतिपय अवस्थामा सङ्घीय कानुन, निर्देशन वा प्रशासनिक दबाबले उनीहरूको काममा हस्तक्षेप गर्ने
अवस्था देखिएको छ। यसले स्थानीय तहको स्वायत्तता कमजोर बनाउने मात्र होइन। जनताको न्यायप्रति विश्वास पनि डगमगाउन
सक्छ।
अहिले आवश्यक कुरा भनेको स्पष्ट कानुनी
आधार, अधिकारको
सम्मान र तहगत समन्वय हो। सङ्घीय सरकारले नीति निर्माण गर्दा स्थानीय तहको
संवैधानिक अधिकारलाई ध्यान दिनुपर्छ। नियन्त्रण र अङ्कुश होइन, सहकार्य र सहयोगमार्फत मात्र प्रभावकारी
न्याय प्रणाली विकास हुन सक्छ।
यस सन्दर्भमा जिल्लाका सबै पालिकाहरूको एउटै स्वरले महत्वपूर्ण सन्देश दिएको छ—स्थानीय तह आफ्नो अधिकारप्रति सचेत छन् र त्यसको रक्षा गर्न प्रतिबद्ध छन्। अब, सङ्घीय सरकारले पनि यसलाई सकारात्मक रूपमा लिएर सहकार्यको वातावरण बनाउनु आवश्यक छ। न्याय सम्पादनमा स्वायत्तता कायम रहँदा मात्र संघीय लोकतान्त्रिक व्यवस्थाको सार्थकता प्रमाणित हुनेछ।