स्थानीय सराेकार/सिन्धुपाल्चोक । स्थानीय तहको राजनीति केवल चुनाव जित्ने माध्यम मात्र होइन । जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको जिम्मेवारी पनि हो। यही सन्दर्भमा मेलम्ची–११ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला, संगठन विस्तार सम्पन्न भएकाे छ । राजनीतिक गतिविधिभन्दा बढी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तारको प्रयासका रूपमा हेर्न सकिन्छ।
उक्त वडा भेला तथा समिति गठनकाे भेलाले समाजसेवी एवम् युवा व्यावसायी महेश चालिसेलाई सभापति चयन गरेकाे हाे । त्यसै गरी उपसभापतिमा मनिसा चालिसे, सचिवमा चल बहादुर तामाङ साथै सदस्यहरूमा, समीर चालिसे, साधुराम पुरी, अमृत पुरी, नारायण दुलाल, धनञ्जय दुलाल, ऋषिराम लामिछाने, कृष्णप्रसाद दुलाल, केदार दुलाल, समिम रम्तेल, बलराम दुलाल, रामकुमार दुलाल, ललित दुलाल सहित १५ सदस्यीय वडा तदर्थ समिति गढन पश्चात वडा समितिले पूर्णता पाएकाे छ । वडा भेला कुनै पनि राजनीतिक दलका लागि आधारभूत संरचना मजबुत बनाउने महत्वपूर्ण माध्यम हो। यस्ता भेलामार्फत स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणसँग प्रत्यक्ष संवाद हुने अवसर मिल्छ।
रास्वपाले पछिल्लो समय युवापुस्ताको अपेक्षा, सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिक अभ्यासलाई केन्द्रमा राख्दै आफ्नो संगठन विस्तार गरिरहेको देखिन्छ। वडा स्तरसम्म पुगेर छलफल, सुझाव संकलन तथा स्थानीय समस्याको पहिचान गर्नु सकारात्मक पक्ष हो।
तर केवल भेला आयोजना गर्दैमा जनविश्वास स्थायी रूपमा कायम रहँदैन। राजनीतिक दलले आफ्ना प्रतिबद्धता व्यवहारमा उतार्न सक्नुपर्छ। स्थानीय तहमा देखिएका विकासका ढिलासुस्ती, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाहका समस्यामा स्पष्ट योजना र परिणाममुखी काम आवश्यक हुन्छ। जनताले अब भाषणभन्दा कामको मूल्यांकन गर्न थालेका छन्।
रास्वपाका वडा भेलाहरूले राजनीतिक चेतना र सहभागिता बढाउने वातावरण बनाएको छ। विशेषगरी नयाँ पुस्ताको सक्रियता लोकतन्त्रका लागि सकारात्मक संकेत हो। तर संगठन विस्तारसँगै अनुशासन, विचारको स्पष्टता र जनउत्तरदायित्वलाई समान रूपमा बलियो बनाउन सकिएन भने अपेक्षा निराशामा बदलिन समय लाग्दैन।
वडा भेला लोकतान्त्रिक अभ्यासको एउटा महत्वपूर्ण कडी हो। यसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी जनताको भावना बुझ्ने, समस्या समाधान गर्ने र विश्वास निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न सकिए मात्र यसको वास्तविक अर्थ स्थापित हुनेछ।