काठमाडौं । मोबाइल फोन हराउनु आजको
समयमा सामान्य घटना जस्तो देखिए पनि त्यससँग जोडिएका नागरिकका व्यक्तिगत विवरण, सम्पर्क, आर्थिक
कारोबार र महत्वपूर्ण सूचनाको जोखिम निकै गम्भीर हुन्छ। यस्तो अवस्थामा हराएका
मोबाइल फोन खोजी गरी सम्बन्धित धनीलाई फिर्ता गर्नु प्रहरीको नियमित जिम्मेवारी
मात्र नभई नागरिकप्रतिको उत्तरदायित्व र सेवाभावको उदाहरण पनि हो।
प्रहरी निरिक्षक गंगाराम बुढाथोकी नेपाल प्रहरीभित्र इमान्दार, जिम्मेवार र उत्कृष्ट कार्यसम्पादन गर्ने एक असल प्रहरी कर्मचारीका रुपमा सम्मानित भैसकेको अधिकृत हुनुहुन्छ । यो कार्य संगठनको मनोबल बढाउने सकारात्मक अभ्यास हो।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) गंगाराम बुढाथोकी बैशाख महिनामा
उत्कृष्ट प्रहरी घोषित भैसक्नु भएको छ । व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण
प्रहरी संगठनभित्र व्यावसायिकता र सेवाभावलाई प्रोत्साहन गर्ने सन्देश पनि हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले
विभिन्न मिति तथा समयमा हराएका मोबाइल फोन खोजतलास गरी २०८३ मंसिर ४ गते सम्बन्धित
मोबाइलधनीलाई हस्तान्तरण गरेको कार्य सकारात्मक र प्रशंसनीय छ। प्रविधिको प्रयोग
तथा अनुसन्धानमार्फत हराएका मोबाइल फेला पार्नुले प्रहरीको कार्यक्षमता र नागरिक
सेवाप्रतिको प्रतिबद्धता झल्काउँछ।
तर, मोबाइल हराउने र चोरी हुने घटनालाई सामान्य रूपमा लिनु हुँदैन। मोबाइल चोरी
तथा हराउने घटनासँगै व्यक्तिगत गोपनीयता भंग, बैंकिङ कारोबारमा दुरुपयोग, सामाजिक
सञ्जालको अनधिकृत प्रयोग र विभिन्न किसिमका साइबर अपराधको जोखिम पनि जोडिएको
हुन्छ। त्यसैले यस्ता घटनाको अनुसन्धानलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।
प्रहरीले मोबाइल खोजी गरी फिर्ता
गर्नु सराहनीय भए पनि मोबाइल चोरीमा संलग्न व्यक्तिको पहिचान, चोरी भएका मोबाइलको अवैध खरिदबिक्री नियन्त्रण र यस्ता
गतिविधिमा संलग्न गिरोहको अनुसन्धानलाई पनि प्राथमिकता दिनुपर्छ। हराएको मोबाइल
फिर्ता गर्नु तत्कालीन राहत हो भने मोबाइल चोरीको सञ्जाल नियन्त्रण गर्नु
दीर्घकालीन समाधान हो।
प्रहरीप्रतिको नागरिक विश्वास भाषण र
प्रचारबाट होइन, व्यवहार, पारदर्शिता र परिणामबाट स्थापित हुन्छ। नागरिकले प्रहरी
कार्यालय धाउँदा सहज सेवा पाउने, गुनासोको
सुनुवाइ हुने र हराएको सम्पत्ति फिर्ता पाउने वातावरण निर्माण हुनुपर्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंको यो
प्रयासले अन्य प्रहरी कार्यालयलाई पनि नागरिकको हराएको सम्पत्ति खोजी तथा फिर्ता
गर्ने कार्यमा थप सक्रिय हुन प्रेरित गरोस्। प्रहरीको वास्तविक सफलता अपराध
नियन्त्रणमा मात्र होइन, नागरिकको दुःखमा साथ
दिने र राज्यप्रतिको भरोसा बलियो बनाउने कार्यमा पनि मापन हुनुपर्छ।