मङ्गल, २२ वैशाख २०८३ / May 5, 2026, Tuesday
मङ्गल, २२ वैशाख २०८३
Advertisement
banner add

आन्तरिक विवादले एमाले दबाबमा

banner add
writter
मङ्गल, २२ वैशाख २०८३
(Shares)

काठमाडौँ । नेपालको प्रमुख कम्युनिस्ट शक्ति मानिएको नेकपा (एमाले) यतिबेला आन्तरिक असन्तुष्टि र छटपटीको चरणबाट गुज्रिरहेको देखिन्छ। सत्ता बाहिर रहँदा होस् वा पार्टीभित्रको नेतृत्व र कार्यशैलीका कारण, एमालेभित्र अनेक तहमा असन्तोष बढ्दै गएको संकेतहरू प्रष्ट देखिन थालेका छन्।

प्रतिनिधि सभा निर्वाचन सकिएको दुई महिना पुग्दा पनि पार्टीभित्र औपचारिक समीक्षा शुरु नभएपछि नेकपा एमालेका युवा नेताहरूले दबाब अभियान थालेका छन् ।

राजधानीमा शनिबार एक कार्यक्रम गरी उनीहरूले नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव अगाडि बढाएका छन् ।

निर्वाचन पछिको अवस्थालाई मूल्याकंन गर्दा अब पुनर्गठन विकल्प हो भन्नेमा हामी छौं,’ युवा नेतृ नविना लामाले भनिन्, ‘अरु युवाहरू पनि यही तरिकाले एमाले बन्दैन भन्नेमा सहमत हुनुहुन्छ । शनिबारको छलफलमा सहभागी युवा नेताहरूले पनि वर्तमान नेतृत्वले एमालेलाई पुनजागृत गराउन नसक्ने निष्कर्ष निकालेका थिए ।

सर्मनाक पराजय बेहोरेको दुई महिना भइसक्यो, पार्टीमा समीक्षा बैठक बस्न सकेको छैन । यस्तो कमिटी र नेतृत्व विघटन गरेर जानुपर्छ,’ युवा नेता रोशन बस्नेतले भने, ‘विगतमा पनि तदर्थ नेतृत्व गठन गर्दा पार्टी पुनजागृत भएका उदाहरणहरू छन् ।

०६४ सालको संविधान सभा निर्वाचनमा नराम्रो पराजय बेहार्दा पनि तत्कालीन पार्टी नेतृत्वले राजीनामा गरेको सन्दर्भ उनी सम्झन्छन् ।

पार्टी पुनर्गठनको दबाब दिने उद्देश्यले शुरु भएको यो अभियानमा युवा नेताहरू झपट रावल, समिक बडाल, नरेश रोकाया, रमेश पौडेल, गजेन्द्र थपलिया, रोशन बस्नेत लगायत छन् ।

पार्टीभित्र निर्णय प्रक्रिया केन्द्रीकृत हुँदै जानु, शीर्ष नेतृत्वबीच विश्वासको कमी देखिनु र तल्लो तहका कार्यकर्ताको आवाज बेवास्ता हुनुजस्ता कारणहरूले असन्तुष्टि चुलिएको हो। विशेषतः नीति निर्माण र संगठनात्मक निर्णयहरूमा व्यापक छलफलको अभावले कार्यकर्तामा निराशा बढाएको छ।

सत्ता समीकरणमा पछाडि परेपछि एमालेभित्र ‘अब के गर्ने?’  भन्ने प्रश्नले पनि थप छटपटी सिर्जना गरेको छ। पार्टीको भविष्य, रणनीति र नेतृत्वको दिशाबारे स्पष्टता नहुँदा कतिपय नेता–कार्यकर्ता अन्य विकल्पतर्फ हेर्न थालेको संकेत पनि देखिन्छ। यसले पार्टी एकता र संगठनात्मक मजबुतीमा चुनौती थपेको छ।

अर्कोतर्फ, नेतृत्व तहबाट आउने अभिव्यक्ति र व्यवहारले पनि विवाद बढाउने काम गरेको छ। आलोचनालाई स्वीकार गर्ने संस्कार कमजोर बन्दै जानु र फरक मतलाई दबाउने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाएको छ।

एमालेजस्तो ठूलो र ऐतिहासिक पार्टीका लागि आन्तरिक एकता र स्पष्ट दृष्टिकोण अपरिहार्य हुन्छ। तर, वर्तमान अवस्थाले त्यो एकता कमजोर बन्दै गएको संकेत गर्दछ। यदि समयमै सुधारका प्रयासहरू भएनन् भने, यो छटपटीले दीर्घकालीन असर पार्न सक्नेछ।

पार्टीभित्रको असन्तोषलाई सम्बोधन गर्दै समावेशी संवाद, पारदर्शी निर्णय प्रक्रिया र स्पष्ट राजनीतिक मार्गचित्र प्रस्तुत गर्न सके मात्र एमालेले आफ्नो पुरानो शक्ति पुनः स्थापित गर्न सक्नेछ। अन्यथा, बढ्दो छटपटीले पार्टीलाई थप कमजोर बनाउने जोखिम रहिरहनेछ।

ads
ads
add
banner add

सम्बन्धित खबर