काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ की कार्यवाहक वडा अध्यक्ष चाणिका निरौलाले जनताको अपेक्षाअनुसार छिटो, पारदर्शी र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन्। वडामा सडक, ढल, खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाइएको उनको भनाइ छ।
उहाँका अनुसार वडा कार्यालयले नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रशासनिक प्रक्रियालाई थप व्यवस्थित बनाउँदै आएको छ। विकास निर्माणका योजनाहरूमा स्थानीयको सहभागिता बढाउने, सार्वजनिक सुनुवाइ तथा पारदर्शितालाई प्राथमिकतामा राखेर काम भइरहेको उनले बताइन्।
कार्यवाहक अध्यक्ष निरौलाले युवालाई सीपमूलक तालिम, स्वरोजगार तथा उद्यमशीलतामा जोड दिने, महिलाको सशक्तीकरण, ज्येष्ठ नागरिक, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। वातावरण संरक्षण, फोहोर व्यवस्थापन र हरियाली प्रवर्द्धनमा समेत वडा सक्रिय रहेको उनको भनाइ छ।
उनले आगामी दिनमा वडा नं. १ लाई विकास, सुशासन र नागरिकमैत्री सेवाको नमुना वडा बनाउने लक्ष्य रहेको उल्लेख गर्दै विकास अभियानमा सबै स्थानीयवासीको सक्रिय साथ र सहयोगको आग्रह गरिन्।