स्थानीय सरोकार/कैलाली । बुढीगंगा नगरपालिका मा स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको सिपमूलक तालिम प्रभावकारी बन्दै गएको छ। नगरपालिकाको बुढीगंगा सिप विकास तथा प्रशिक्षण केन्द्रमार्फत महिलाहरूलाई स्थानीय उत्पादन प्रयोग गरी साबुन, सरफ, स्याम्पु, हर्पिक र फिनायल बनाउने तालिम दिइँदैछ।
वैशाख २९ गतेदेखि सुरु भएको २० दिने तालिममा सहभागी महिलाहरू बिहान घरायसी सबै काम सकेर बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रशिक्षण केन्द्रमा सिप सिक्न व्यस्त हुने गरेका छन्। केही पुरुषसमेत तालिममा सहभागी भएका छन्।
प्रशिक्षक ताराप्रसाद ओझा का अनुसार तितेपाती, अल्लो, घ्यूकुमारी, मौरीको मह, दूध र नरिवलको तेलजस्ता स्थानीय स्रोत प्रयोग गरेर २२ प्रकारका साबुन बनाउने तालिम सञ्चालन भइरहेको छ। उनले एक सातामै सहभागीहरूले धेरै कुरा सिकिसकेको बताए।
“२० दिनसम्मको तालिमपछि उहाँहरू व्यावसायिक रूपमा उत्पादन गर्न सक्षम हुनुहुनेछ,” उनले भने। नगर प्रमुख रामबहादुर बानियाँ ले तालिमपछि स्थानीयले उत्पादन सुरु गरे नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने बताएका छन्। उनका अनुसार जेठ १७ गतेसम्म सहभागीहरूले व्यावसायिक रूपमा साबुन, सरफ, स्याम्पु, हर्पिक र फिनायल उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाले हालसम्म सिप विकास तथा प्रशिक्षण केन्द्रमार्फत ८ सयभन्दा बढी नागरिकलाई विभिन्न सिप प्रदान गरिसकेको जनाएको छ। अचार बनाउने, सिलाइकटाइ, प्लम्बिङ तथा काठका सामग्री निर्माणजस्ता तालिम लिएका धेरै व्यक्ति अहिले स्वरोजगार बनेका छन्।
नगर प्रमुख बानियाँले साबुन र सरफजस्ता दैनिक उपभोग्य वस्तुको बजार ठूलो भएकाले यस क्षेत्रमा राम्रो सम्भावना रहेको बताए। उनका अनुसार १ सय ग्राम साबुन उत्पादन गर्न करिब ४० रुपैयाँ लागत लाग्ने भए पनि व्यावसायिक उत्पादन सुरु भएपछि लागत अझ घट्ने विश्वास गरिएको छ।
कम लगानीमै राम्रो आम्दानी हुने सम्भावना देखिएकाले स्थानीयको तालिमप्रति उत्साहजनक चासो बढिरहेको नगरपालिकाले जनाएको छ।