काठमाडौं । लागूऔषध ट्रामाडोल २ लाख ९ हजार क्याप्सुल र एम्पुल २ हजार ४ सय पिस बरामद भएको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लामो समयदेखि निगरानी गर्ने क्रममा मकवानपुर, बागमती गाउँपालिका–९ की २७ वर्षीया बेली कुमारी घिसिङलाई पक्राउ गरेको हो।
ब्यूरोका अनुसार उनलाई ललितपुरको गोदावरी नगरपालिका–१२ बाट पक्राउ गरिएको हो। पक्राउपछि घिसिङलाई सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घिसिङ लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरमा दर्ता भएको ट्रामाडोल २ लाख ९ हजार क्याप्सुल र एम्पुल २ हजार ४ सय पिससम्बन्धी मुद्दामा फरार रहेकी थिइन्।
प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निगरानी तथा अनुसन्धानलाई निरन्तरता दिइरहेको जनाएको छ।