विराटनगर । हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५, रानीका शम्भुप्रसाद साह र विराटनगर–१७ का सुरजप्रसाद साहलाई बिहीबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका बैंक खाता प्रयोग गरी हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
उनीहरूले ती बैंक खातामार्फत ठूलो परिमाणमा रकमको कारोबार गरेको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान गरिरहेको जनाएको छ।