काठमाडौँ । नेकपा
एमालेभित्र पछिल्लो समय देखिएको शक्ति संघर्ष अब सतहमै आएको छ । पूर्वराष्ट्रपति विद्या
भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्काउने बहस केवल एउटा व्यक्तिगत राजनीतिक
पुनरागमनको विषय होइन, यो एमालेभित्रको भावी नेतृत्व, शक्ति सन्तुलन र
उत्तराधिकारको संघर्षसँग जोडिएको विषय हो । यही सन्दर्भमा प्रधानमन्त्री तथा नेकपा
(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चालिरहेको राजनीतिक चाललाई धेरैले “रणनीतिक पासा” का रूपमा व्याख्या गर्न थालेका छन् ।
ओलीले विद्या भण्डारीलाई सहज बनाउन बाटो
खोलिदिएका हुन् भन्ने भाष्य निर्माण गरिए पनि वास्तविकता त्यसभन्दा फरक देखिन्छ ।
एमालेभित्र पछिल्लो समय ओलीको नेतृत्वमाथि प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र
दोस्रो पुस्ता सक्रिय बन्न खोजिरहेको छ भने केही नेताहरू उत्तराधिकारीको बहसलाई
तीव्र बनाउन चाहन्छन् । यस्तो अवस्थामा विद्या भण्डारीको नामलाई अघि सारेर ओलीले
आफ्नै आलोचक समूहलाई दबाबमा राख्ने प्रयास गरेका देखिन्छन् ।
विद्या भण्डारी एमालेको पुरानो, भावनात्मक
र प्रभावशाली अनुहार हुन् । तत्कालीन जननेता मदन भण्डारीको राजनीतिक विरासतसँग
जोडिएकी भण्डारीको नाम अझै पनि एमालेको एउटा ठूलो पंक्तिमा प्रभावशाली छ । त्यसैले
उनको सक्रियता सम्भावित रूपमा एमालेभित्र नयाँ ध्रुवीकरणको आधार बन्न सक्छ । ओलीले
यही सम्भावनालाई आफ्नो पक्षमा प्रयोग गर्न खोजेका हुन् भन्ने संकेत देखिन्छ ।
नेकपा (एमाले)का पदाधिकारीहरूका अनुसार
अध्यक्ष ओलीले यो कदम विद्या भण्डारी प्रतिको
सदाशयता वा सम्मानका कारण चालेका होइनन् । एमालेकै एक पदाधिकारीका शब्दमा, ‘यो
आफ्नो संकट टार्न फालिएको अर्को कार्ड हो ।
एमालेभित्र चुलिँदै गएको आन्तरिक शक्ति
संघर्षका बीच अध्यक्ष ओलीले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष
भण्डारीसँगको दूरी कम गर्दै आफूविरुद्ध उभिन खोज्ने नेताहरूलाई राजनीतिक सन्देश
दिन खोजेको बुझाइ पार्टीभित्र बलियो बन्दै गएको छ ।
पार्टीका महासचिव शंकर पोख्रले र
उपाध्यक्ष बिष्णु प्रसाद पौडेल लगायत आफ्नै निकट
मानिएका नेताहरूबाट घेराबन्दी बढ्न थालेपछि अध्यक्ष ओलीले भण्डारीसँग संवाद र
सहकार्यलाई तीव्र बनाएको एमाले वृत्तको दाबी छ ।
एमालेभित्र पछिल्लो समय ‘अध्यक्ष ओलीलाई
नहटाए पार्टी थप संकटतर्फ जान सक्छ, भन्ने निष्कर्षसहित
पौडेल, पोखरेलसहित बहुमत पदाधिकारीहरू वैकल्पिक शक्ति समीकरण
निर्माणको प्रयासमा रहेको चर्चा पनि पार्टीभित्र चर्किएको छ । यही पृष्ठभूमिमा
ओलीले भण्डारीलाई पुनःसक्रिय राजनीतिक केन्द्रमा ल्याउने संकेत गर्दै आफ्ना विरोधी
समूहलाई दबाबमा राख्ने रणनीति अपनाएको विश्लेषण हुन थालेको छ ।
यदि विद्या भण्डारी पूर्ण रूपमा
राजनीतिमा फर्किन्छिन् भने त्यसले एमालेभित्र नेतृत्व प्रतिस्पर्धालाई नयाँ मोड
दिन सक्छ । तर ओलीको अहिलेको रणनीति उनलाई वास्तविक शक्ति हस्तान्तरण गर्ने भन्दा
पनि आफ्ना प्रतिस्पर्धीहरूलाई सन्तुलनमा राख्ने उद्देश्यतर्फ बढी केन्द्रित
देखिन्छ । राजनीतिमा कहिलेकाहीँ प्रत्यक्ष आक्रमणभन्दा सम्भावित विकल्पको संकेत
मात्र पनि पर्याप्त दबाब बन्न सक्छ । ओलीले त्यही मनोवैज्ञानिक राजनीति खेलेका छन्
।
एमालेभित्रको यो घटनाक्रमले एउटा स्पष्ट संकेत भने दिएको छ—पार्टी अब केवल एकल नेतृत्वको भरमा लामो समय चल्ने अवस्थामा छैन । उत्तराधिकारको बहस अब टार्न सकिने विषय रहेन । विद्या भण्डारीको नाम प्रयोग गरेर तत्काल संकट व्यवस्थापन गर्न सकिएला, तर दीर्घकालीन रूपमा एमालेले स्पष्ट नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र पुस्तान्तरणको प्रश्न समाधान गर्नै पर्नेछ । प्रश्न विद्या भण्डारी फर्किन्छिन् कि फर्किन्नन् भन्ने मात्र होइन । प्रश्न यो हो कि एमालेभित्रको सत्ता समीकरण कता मोडिन्छ र ओलीले फ्याँकेको यो राजनीतिक पासा अन्ततः कसको पक्षमा पर्छ ।