बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

माओवादीसहित साना दल निर्वाचन आयोगसँग झस्किए, प्रयोग हुन खोजेको आशंका

banner add
writter
बुध, २१ साउन २०८२
(Shares)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न १२ वटा राजनीतिक दलको संयुक्त बैठक राखेका छन्  सिंहदरबारस्थित् माओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र आम जनता पार्टीलगायतका नेताहरु सहभागी थिए ।

सत्तारुढ एवं प्रतिपक्षमा रहेका १२ दलको बैठकमा निर्वाचन आयोगले ड्राफ्ट गरेको स्वमूल्याङ्कन सम्बन्धी कार्यविधिको बारेमा छलफल भएको माओवादी उपमहासचिव वर्षमान पुनले बताए ।

‘निर्वाचन आयोगले पछिल्लो समयमा एउटा निर्देशिका तयार गरेको छ र सुझावको लागि सबै दलहरुलाई पठाएको छ । त्यसमा स्वमूल्याङ्कन सम्बन्धी कार्यविधि ड्राफ्ट गरेर सुझावको लागि पठाएको सन्दर्भमा हामी बसेका हौं,’– बैठकबारे जानकारी दिँदै पुनले भने ।

साथै, निर्वाचन आयोगले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्देशिका तयार गरेको १२ दलको निष्कर्ष रहेको पनि उनले सुनाए । निष्पक्ष हुनुपर्ने संवैधानिक आयोग कतै प्रयोग हुन खोजेको हो कि भन्ने आशंका आफूहरुको रहेको पनि उनले बताए ।

‘हामी सबै दलहरु के कुरामा सहमत भयौं भने एकातिर निर्वाचन आयोगले दलहरुलाई नियन्त्रण, नियमन, निर्देशन गर्ने होइन । यो संविधानविपरीत काम गर्न खोज्यो, कानूनविपरीत काम गर्न खोज्यो ।

दलहरुका योग्यता, क्षमताको कुरा वा उसले आफ्नो दायित्व पूरा गर्नुपर्ने कुरा त दलसम्बन्धी ऐनमा अलगै व्यवस्था छ, संविधानका विभिन्न धाराहरुमा व्यवस्था छ । त्यसभन्दा अगाडि बढेर निर्वाचन आयोगले कार्यविधि बनाउन लागेको छ, त्यो असल नियतले बनाउन लागेको देखेनौं,’– उनले भने, ‘अर्को कुरा बेला–बेला दुई दल मिलेर दुई पार्टी सिस्टममा लाने कुरा गर्नुहुन्छ ।

त्यस्तै आशयबाट कतै निर्वाचन आयोग, संवैधानिक आयोग निष्पक्ष, स्वतन्त्र हुनुपर्नेमा प्रयोग हुन खोज्यो कि भन्ने हामीलाई आशंका पनि भयो । यो संविधानविपरीत छ, कानुनविपरीत छ । आयोगको कार्यक्षेत्र विपरीत छ भनेर हामीले साझा धारणा बनाएका छौं ।’

ads
ads
add
banner add

सम्बन्धित खबर