काठमाडौं । १३ वर्षअघिको रक्तचन्दन तस्करी प्रकरणमा संलग्न ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राति काठमाडौंस्थित मेरियट होटलबाट पक्राउ गरेको हो।
सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार बस्नेतलाई रक्तचन्दन तस्करीसम्बन्धी पुरानो प्रकरणमा पक्राउ गरिएको हो।
उक्त प्रकरणमा रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालकविरुद्ध मुद्दा चलेको थियो। उनीहरू जेल चलानसमेत भएका थिए र हाल रिहा भइसकेका छन्। तर, बस्नेतको यकिन ठेगाना नखुलेका कारण त्यसबेला उनीविरुद्ध मुद्दा अघि बढ्न सकेको थिएन।
बस्नेतको हकमा वतन खुलेपछि मुद्दा अघि बढाउने गरी अभिलेख राखिएको थियो।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनको ठेगाना खुलेपछि तामेलीमा रहेको उक्त प्रकरणलाई पुनः अघि बढाइएको हो। सम्पत्ति शुद्धीकरण विभागले समेत यससम्बन्धी पत्राचार गरेको थियो।
१३ वर्षअघि भएको रक्तचन्दन तस्करी प्रकरणमा लामो समयपछि बस्नेत पक्राउ परेसँगै उक्त घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।