हालै काठमाडौं उपत्यकामा प्रहरीले अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) सञ्चालन गर्दै आएका पाँच जनालाई पक्राउ गरेको छ । यस किसिमको आपराधिक धन्दा बढ्दै जानु समाज र अर्थतन्त्र दुवैका लागि गम्भीर चिन्ताको विषय हो ।
नेपालमा जुवा–सट्टाबाजी कानुनले स्पष्ट रूपमा निषेध गरेको क्रियाकलाप हो । तर, प्रविधिको सहज पहुँच, इन्टरनेट र मोबाइल एप्समार्फत यसलाई नियन्त्रणबाहिर लैजान सक्ने अवस्था सिर्जना भएको छ ।
अनलाइन सट्टेबाजीको आकर्षणले विशेष गरी युवापुस्तालाई लोभ्याइरहेको छ । उनीहरू छिटो पैसा कमाउने प्रलोभनमा फस्छन् र परिणाम स्वरूप आर्थिक, सामाजिक र मानसिक संकटमा धकेलिन्छन् ।
अनलाइन जुवा र सट्टेबाजी केवल व्यक्तिको निजी हानीसम्म सीमित रहँदैन, यसले समाजमा अपराध, धोकाधडी, ठगी र आर्थिक अपचलनलाई प्रोत्साहन गर्दछ । कालो धन सेतो पार्ने माध्यमका रूपमा समेत यसको प्रयोग हुने गरेको तथ्य प्रहरीले पटक–पटक सार्वजनिक गरिसकेको छ ।
काठमाडौंमा गरिएको कारबाहीलाई सकारात्मक कदमका रूपमा लिन सकिन्छ । तर, यसलाई केवल पाँच जनाको गिरफ्तारीमा सीमित राखेर समस्या समाधान हुँदैन ।
मूल जरोसम्म पुगेर नेटवर्क ध्वस्त पार्नु जरुरी छ । साथै, अनलाइनमार्फत सञ्चालन हुने यस्ता गतिविधि नियन्त्रण गर्न साइबर सुरक्षा, कानुनी कडाइ, अन्तर्राष्ट्रिय सहकार्य र जनचेतनामूलक अभियान सबै समानान्तर रूपमा अघि बढाउनुपर्छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गोप्य सूचनाको आधारमा अनलाइन बेटिङ सञ्चालन भइरहेको ठानिएको घरमा छापा मार्दा पाँच जना व्यक्तिलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–४, पासिकोट गौरीपाखास्थित एक घरमा शुक्रबार दिउँसो गरिएको छापामा अनलाइनमार्फत बेटिङ खेल सञ्चालन भइरहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरू: मोनिक तामाङ ,सरोज लोकान्द्री, अजय लामा , उशन लामा र अर्लोक धामी रहेका छन् ।
उनिहरूको लाथबाट ७ थान मोबाइल सेट, ५ थान कम्प्युटर मोनिटर , २ थान CPU र १ थान ल्यापटप बरामद गरिएको छ ।
काठमाडौं परिसरका प्रहरी निरीक्षक सत्रुधन महतोको कमाण्डमा भएको उक्त अपरेशनमा बरामद सामग्रीसहित पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिएका छन् ।