पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुरस्थित नेपाल बैंकको शाखाले सेवाग्राहीलाई नक्कली नोट दिएको आरोप लागेको छ। रकम झिक्ने क्रममा एक हजार रुपैयाँका दुईवटा नक्कली नोट दिएको भन्दै एक सेवाग्राहीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार गत शुक्रबार ती सेवाग्राहीले बैंकबाट १२ हजार रुपैयाँ झिकेका थिए। सो रकममा एक सय रुपैयाँ दरका नोटबाट १० हजार रुपैयाँ र एक हजार रुपैयाँ दरका दुईवटा नोट रहेको बताइएको छ।
रकम झिकेको केही दिनपछि मात्रै सेवाग्राहीले एक हजार दरका दुईवटा नोट नक्कली रहेको दाबी गर्दै प्रहरीमा उजुरी दिएको सूचना अधिकारी थापाले जानकारी दिए।
उनले भने, “उहाँहरूले पैसा झिकेर लगेको केही दिनपछि मात्रै आएर नोट नक्कली रहेछ भनेर उजुरी गर्नुभएको छ। हामीले अनुसन्धान गर्दैछौँ।”
यता, बैंकका कर्मचारीले भने घटनाबारे आफूहरूलाई विस्तृत जानकारी नभएको बताएका छन्। एक कर्मचारीका अनुसार यही विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालयले बोलाएको छ।
उनले भने, “त्यही विषयमा कुरा गर्न जिल्ला प्रहरी कार्यालय बोलाउनुभएको छ। के रहेछ, म त्यहीँ जाँदैछु।”
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। बैंकबाटै नक्कली नोट उपलब्ध गराइएको हो वा अन्य कुनै कारणले यस्तो अवस्था सिर्जना भएको हो भन्ने विषय अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।