चितवन, वैशाख २७ — चितवनको खैरहनी नगरपालिकास्थित एक होटलका सञ्चालक बालिकाविरुद्धको कसुरमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार खैरहनी नगरपालिका–१० निवासी ३५ वर्षीय विकासकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। उनी खैरहनीस्थित ‘नमस्ते मिलिजुली ताजा घर’ होटलका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार होटलमा काम गर्ने १७ वर्षीया बालिकालाई श्रेष्ठले शारीरिक सम्पर्क गरेबापत ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएका थिए। बालिकाले अस्वीकार गरेपछि उनले जबर्जस्ती गर्ने प्रयास गरेको तथा सामाजिक सञ्जाल WhatsApp र Instagram मार्फत अश्लील सन्देश र भिडियोसमेत पठाएको आरोप छ।
घटनाबारे इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी परेपछि प्रहरीले वैशाख २७ गते श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीले बालबालिकाविरुद्ध हुने यस्ता घटनाबारे जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।