काठमाडौं प्रहरीले आफूलाई गृह मन्त्रालयसँग सम्बन्धित व्यक्ति भनेर चिनाउँदै प्रहरी अधिकृतलाई सरुवा गरिदिने धम्की दिएको आरोपमा ३२ वर्षीय कुल वीर नेपालीलाई पक्राउ गरेको छ। उनी सुर्खेतका स्थायी बासिन्दा हुन् र हाल कीर्तिपुरमा बस्दै आएका थिए।
प्रहरीका अनुसार उनले असार २१ गते कैलालीमा कार्यरत एक प्रहरी अधिकृतलाई फोन गरेर आफू गृह मन्त्रालयसँग सम्बन्धित भएको दाबी गर्दै काम गर्न नसके सरुवा गरिदिने भन्दै दबाब दिएका थिए। उजुरीपछि अनुसन्धान सुरु गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा उनले सरकारी पहुँच र प्रभाव भएको झुटो दाबी गरेर प्रहरी अधिकृतमाथि मानसिक दबाब सिर्जना गर्न खोजेको देखिएको प्रहरीले जनाएको छ। हाल उनीमाथि “अभद्र व्यवहार” सम्बन्धी कसुरमा तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सर्वसाधारणलाई राजनीतिक वा प्रशासनिक पहुँचको नाममा धम्क्याउने गतिविधिप्रति सचेत रहन आग्रह गर्दै यस्ता घटना भए तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन्। प्रहरीले झुटो प्रभाव वा पहुँच देखाएर कानुनविपरीत काम गर्ने जोसुकैमाथि कानुनी कारबाही गरिने जनाएको छ।