काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा
आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत
जिल्लामा जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र
सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा
पुनःस्थापनामा निरन्तर खटिइरहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले विपद्को कठिन परिस्थितिमा
सुरक्षाकर्मीहरूले आफ्नो ज्यानको समेत प्रवाह नगरी नागरिकको उद्धार, बेपत्ता
व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको
व्यवस्थापन तथा राहत सामग्री वितरणमा भूमिका निर्वाह गरिरहेको जनाएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत नेपाली प्रहरीलगायत
सुरक्षा निकायलाई लक्षित गरी ‘आर्मी पुलिसले
राहत सामग्री आफैंले लिएको, वितरण नगरेको र सडिगली गएको’ भन्ने
आशयका भ्रमपूर्ण तथा तथ्यहीन अफवाह फैलाइएको भन्दै प्रहरीले गम्भीर ध्यानाकर्षण
भएको जनाएको छ।
प्रहरीका अनुसार नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री
भण्डारण नरहेको विषयमा समेत जानकारी गराउँदै विपद्का बेला उद्धार तथा राहतमा
खटिएका सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पर्ने, नागरिकमा सुरक्षा
निकायप्रति अविश्वास सिर्जना हुने तथा विपद् व्यवस्थापनसम्बन्धी संवेदनशील कार्य
प्रभावित हुने गरी कपोलकल्पित आरोप र अफवाह फैलाउनु दुःखद र गैरजिम्मेवार कार्य
हो।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीसहितका सुरक्षा निकाय
विपद्का समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र
मानवीय सेवामा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि
नारायण काफ्लेले संवेदनशील परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबल कमजोर
पार्ने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अफवाह र अपुष्ट सूचना प्रचार–प्रसार
नगर्न सबैमा हार्दिक अनुरोध गरेका छन्।