काठमाडौं । थाइल्यान्डबाट नेपाल हुँदै भारततर्फ लैजान लागिएको ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट क्याथे प्यासिफिकको उडानमार्फत नेपाल आएका भारतीय नागरिक सञ्जीव कुमार र रवि कुमारलाई १८ किलो गाँजासहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले लागूऔषध गाँजा लुकीछिपी ल्याएको अवस्थामा विमानस्थलको आगमनतर्फको भन्सार एरियाबाट बाहिर निस्कने क्रममा पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको ब्यूरोले जनाएको छ।
पक्राउ पर्नेमा भारत, पञ्जाब ठेगाना भएका ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार रहेका छन्।
प्रहरीका अनुसार थाइल्यान्डबाट गाँजा ल्याउने भारतीय नागरिकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेपछि पक्राउबाट बच्न आगमनतर्फको भन्सार एरियामा लगेज छाडेर जाने र केही दिनपछि नेपाली एजेन्टमार्फत ‘क्लेम’ गरी लैजाने योजना बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट १८ किलो लागूऔषध गाँजा, दुई थान पासपोर्ट, दुई थान मोबाइल र चार थान झोला बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरोले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।